तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा ५३ प्रतिशत रोपाइँ

स्याङ्जा । स्याङ्जामा ५३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोे कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष मौसमको अनुकुलताका कारण रोपाइँ असार अन्तिम अन्तिममा आउँदा ५३ प्रतिशत रोपाइँ सकिएको केन्द्रका प्रमुख शालिकराम अधिकारीले बताउनुभयो ।

जिल्लाको धान रोप्ने भू–भागमध्ये ३५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ पूरा भएको हो । अहिले समयमा मनसुन सुरु हुनुका साथै कुलो, नहर समयमै मर्मत भएकाले गत वर्षका तुलनामा यस वर्ष रोपाइँको प्रतिशत बढेको ज्ञान केन्द्रले जनाएको छ ।

यहाँ जेठको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म धान रोप्ने गरिन्छ । जिल्लाको कुल क्षेत्रफलको १६ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिने कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो । ‘गत वर्षभन्दा यस वर्ष ५ प्रतिशत बाँझो जमिनमा खेती बढेको छ ।’ उहांले भन्नुभयोे । यो वर्ष ९५ प्रतिशत भन्दा धेरै रोपाइँ हुने आंकलन गरिएको छ । जिल्लाका दक्षिणि भेगमा रोपाइँ हुने क्रम जारी रहेको छ । गल्याङ, चापाकोट, कालीगण्डकीको तल्लो भेग, भीरकोटका केहि भाग र वालिङमा रोपाइँ हुन बाँकी रहेको छ ।

जिल्लालाई धानमा आत्मनिर्भर बनाउन १२ हजार मेट्रिक टन धान उत्पादन बढाउन आवश्यक छ ।’ गतवर्ष स्याङ्जामा ६५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान उत्पादक क्षेत्र हुन् । स्याङ्जामा साबित्री, राधा ४, सुनौलो सुगन्धा, खुमल ११, मकवानपुर १, स्थानीय मन्सुली, राधा ७, राधा ११ राधा १२ लगायतका उन्नत जातका धान रोप्ने गरिन्छ । यसैगरी, बर्मेली, जर्नेली, अनदी, गुर्दी, पहेंले, खुमल, गोला लगायतका स्थानीय जातका धान पनि रोपिन्छन् । धान बाली यहांको मुख्य खाद्यान्न बाली हो । यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङका फाँटहरु पनि धानका प्रमुख उत्पादक स्थान हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button