तपाईँ सुन्दै हुनुहुन्छः

ब्याज मिनाहा अनुदान तथा राहत कार्यक्रम शुरु

वीरगञ्ज । प्रदेश २ सरकारले कोरोना संक्रमणको कारण लकडाउनबाट प्रभावित किसानहरुलाई ब्याज मिनाहा अनुदान तथा राहत कार्यक्रम आज पर्साबाट शुभारम्भ गरेको छ ।

प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले विभिन्न बैंक, सहकारी संस्था, लघुवित संस्थाहरु मार्फत पर्सा जिल्लामा ऋण लिएका कृषकहरुको ब्याज अनुदान रकमको चेक आज एक समारोहका विच विभिन्न बैंक, सहकारी संस्था तथा लघुवित संस्थालाई हस्तान्तरण गर्नु भएको छ ।

प्रदेश सरकारको ब्याज मिनाहा अनुदान तथा राहत कार्यक्रमबाट पर्साका ४ हजार ६ सय ६५ किसान लाभान्वित भएका छन् । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कृषिका लागि ५ लाख ऋण लिएका किसानहरुको ४ महिनाको १२ प्रतिशतको दरले हुन आउने ब्याज मिनाहा गरिएको १५ लाखको ५० प्रतिशत ब्याज मिनाहा, ३० लाखको ४० प्रतिशत र ३० लाख भन्दा माथिको कृषि मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले निर्णय पछि अनुदान उपलब्ध गराईने घोषणा गर्नु भयो ।

कार्यक्रममा मन्त्री साहले १७ वटा बैंक, २४ वटा सहकारी संस्था र २५ वटा लघुवित संस्थाबाट पर्साका ४ हजार ६ सय ६२ किसानले लिएको ऋणको ४ महिनाको ब्याज वितरण गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले कोरोना संक्रमणबाट देशमा सबै भन्दा बढी प्रदेश २ प्रभावित भएको र प्रदेश २ को कृषि क्षेत्र कोरोना संक्रमणले तहसनहस बनेको हुँदा त्यसलाई माथि उकास्न प्रदेश सरकारले ऋण अनुदान कार्यक्रम ल्याएको बताउनु भयो ।

८० लाख जनसङ्ख्या भएको प्रदेश २ मा ४० लाख किसान रहेकोले सरकारले कृषिलाई वैज्ञानिकीकरण, आधुनिकरण बनाउन योजना अनुरुप अगाडि बढिरहेको बताउनु भयो ।

मन्त्री साहले विदेशबाट १० लाख युवाहरु प्रदेश दुईमा आउने क्रम जारी रहेकोले चुनौती थपिंदै गएको बताउदै कृषि क्षेत्रमा नैं रोजगार सृजना गरी विदेशबाट फर्किएका युवाहरुलाई त्यसैमा लगाउनु पर्ने कुरामा जोड दिनुभयो ।

मुख्यमन्त्री कृषि योजना अन्तर्गत प्रदेशभरिमा दस कट्ठासम्म खेत भएका व्यक्तिहरुको खातामा सीधैं दस हजार प्रदेश सरकारले पठाउने तयारी गरिरहेको मन्त्री साहले बताउनु भयो । कार्यक्रममा सहभागीहरुले ब्याज मिनाहाभन्दा ब्याजदर सस्तो गरे किसानहरुलाई समस्या नपर्ने बताएका थिए ।

कृषिको नाममा लिएका ऋण अन्य क्षेत्रमा लगानी गर्नेहरुमाथि कारबाही हुनु गर्नुपर्ने माग किसानहरुले गरेका थिए । पर्साको हकमा प्रदेश सरकारले ३ करोड १० लाख ब्याज अनुदान विनियोजन गरेकोमा २ करोड ९६ लाख ४५ हजार बजेट खर्च भएको छ ।

पर्सामा जम्मा ५ हजार ३ सय ६१ जनाको ब्याज मिनाहाको लागि निवेदन परेकोमा ५ लाखसम्मका ४ हजार ६ सय ६५ जना ऋणीको ब्याज मिनाहा भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले बताउनुभयो । यादवका अनुसार ५ लाखदेखि १५ लाखसम्म ७८ लाख, १५ लाखदेखि ३० लाखसम्म ८० लाख ५० हजार रकम प्रदेश सरकारले पठाएमा अन्य ब्याज पनि मिनाहा हुने तथ्याड्ढ सार्वजनिक गर्नु भएको थियो ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विमलकुमार निरौला, समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, केन्द्रीय सदस्य वीरेन्द्र यादव, सहकारी सङ्घका हृदयनारायण कुर्मी, सुजीतप्रसाद साहलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button