तपाईँ सुन्दै हुनुहुन्छः

गहुँ भित्र्याउँदै मनाङवासी

मनाङ । पहाडी र तराई क्षेत्रमा वर्षमा तीन÷चार खेती गरिन्छ । मनाङमा भने वर्षमा एक पटक मात्रै खेती गरिन्छ । अहिले पहाडी र तराईका फाँटमा धमाधम धान रोपाइँ भए पनि हिमाली जिल्ला मनाङमा भने गहुँ र करु थन्काउने समय भएको छ । विगतमा पर्यटन तथा होटल व्यवसायमा आबद्ध मनाङवासी अहिले कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै गरिएको बन्दाबन्दीले व्यवसाय बन्द छ । व्यवसाय नै बन्द भएको समयमा मनाङवासीले खेतीपातीलाई प्राथमिकता दिएका छन् । जिल्लामै धान खेती नहुने मनाङका मुख्य बालीका रुपमा गहुँ, करु, फापर र आलु रहेका छन् ।

वर्षको एक पटक मात्र खेतीपाती गरिने यस जिल्लाका चारवटै गाउँपालिकामा गहुँ, करु झुलिरहेका छन् भने फापर फुलेका छन् । चैतमा रोपेर असार साउनमा बाली भित्र्याउने गरिन्छ । हिमपात र अत्यधिक चिसोका कारण अरु समयमा यहाँ खेतीपाती हुँदैन ।

धानखेती उत्पादन नहुने यहाँ धान, चामल अन्य जिल्लाबाट आयात गर्नुपर्छ । वर्षको एक पटक उत्पादन गरिएको अन्नले वर्ष दिनसम्म पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीय गजकुमारी गुरुङले बताउनुभयो । गुरुङका अनुसार धान, चामाल, नुन, तेललगायतका खाद्यान्न अन्य जिल्लाबाट ल्याउनुपर्ने हुन्छ । पर्यटन क्षेत्र भएकाले होटल व्यवसायसँगै खेतीपाती गर्दै आएका मनाङवासी कोरोना महामारीले होटल व्यवसाय ठप्प भएपछि खेतीपातीमै निर्भर हुन बाध्य भएका छन् । यहाँका मानिस जाडो छल्नका लागि मङ्सिर मसान्तदेखि जिल्ला बाहिर जाने गर्छन् । जाडो मौसममा लगभग सबै गाउँघर खाली नै हुन्छ । जाडो सकेर फागुनको अन्तमा जिल्ला भित्रिएर खेतिपातीमा लाग्ने गर्छन् ।

जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ गाउँपालिका, ङाओल घ्यारु पिसाङ भ्राका मनाङगाउँ र खाङ्सारका सम्म ठाउँमा आलु, फापर, गहुँ, करुलगायतका अन्नबाली लगाउने गरिन्छ । तल्लो भाग चामे गाउँपालिका र नासों गाउँपालिकामा भने मकै, फापर, आलु, करु, गहुँ उत्पादन हुन्छ । नार्पाभूमि गाउँपालिकामा आलु, फापर, गहुँ र करु उत्पादन हुने गर्छ । अहिले पर्यटन व्यवसाय ठप्प भएसँगै सबै मानिस खेतीपातीमा लाग्न बाध्य भएको स्थानीय विनोद लामाले बताउनुभयो । “अहिले व्यापार छैन, खेतीपातीमा व्यस्त छौँ” “खेतीपाती र व्यवसाय चलाउँदा उत्पादनमा समय दिन सकेका थिएनौँ”, अहिले खेती पनि राम्रो र उत्पादन बढेको लामाले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button