तपाईँ सुन्दै हुनुहुन्छः

विना मास्क हिड्नेमाथि धनुषामा कारवाही हुने 

जनकपुरधाम । जिल्ला संकट व्यवस्थापन समिति धनुषाको आज बसेको बैठकले कारोना महामारीको जोखिम अहिले पनि रहेकाले सुरक्षा सावधानीका लागि मास्क तथा सेनिटाईजर, सावुन पानीको व्यवस्था कडाईका साथ अनुगमन गर्ने निर्णय गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी एवं संकट व्यवस्थापन समितिका अध्यक्ष कोषहरि निरौलाको अध्यक्षतामा आज सम्पन्न भएको वैठकले बजार तथा सार्वजनिक स्थलमा आउदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र नलगाएको पाईएको खण्डमा कारवाही गर्ने निर्णय भएको छ ।

जनकपुरधाम सहित जिल्लाको अन्य बजार क्षेत्रमा मास्क सेनिटाईजर तथा सावुनपानी अनिवार्य रुपमा प्रयोग गर्ने विषयमा जनकपुरधाम उद्योग वाणिज्य संघ तथा धनुषा चेम्बर आप कमर्ससंग यस अघि नै छलफल गरेकाले अव कडाई र कारवाही बढाउने निर्णय गरेको छ ।

यसैगरी, धनुषाको विभिन्न क्वारेन्टाईनमा रहेकाहरुको स्वाब संकलन गरेर ५ दिन भित्रमा परीक्षण सकी क्वारेन्टाईन खाली गर्ने निर्णय भएको छ । धनुषाका विभिन्न क्वारेन्टाईनहरुमा आजको मितिसम्ममा ४ सय ७१ जना रहेका छन् ।

कोरोनाका कारणले कसैको ज्यान गएको खण्डमा आफ्नो परम्पराअनुसारको शवको व्यवस्थापन नेपाली सेनाको सहयोगमा उचित स्थानमा गर्ने निर्णय भएको छ ।

यसैगरी, जनकपुरधाममा आउन चाहनेलाई १४ दिन अनिवार्य रुपमा होम क्वारेन्टाईन बस्नका लागि सम्बन्धित व्यक्तिलाई वडा समिति तथा स्थानीय प्रहरीको समन्वयमा व्यवस्थापन पर्ने निर्णय भएको छ ।

यसैगरी कोरोनाको आशंकामा रहेका महिला, गर्भवतीको सुरक्षाका लागि छुट्टै वस्ने व्यवस्था गर्ने र यसको अनुगमन गर्ने निर्णय भएको छ । समितिको वैठकमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादव, धनुषा प्रहरी उपरीक्षक रमेश वस्नेत, शसस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, नेपाली सेनाका प्रमुख, स्वास्थ्य कार्यालय धनुषाका प्रमुख ईन्द्रदेव यादव, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख रामविनय साह, नेपाल रेडक्रस सोसाईटी धनुषाका सभापति नरेश सिंह सहितको सहभागिता रहेको थियो ।

यसै बीच जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार विना मास्क हिड्ने व्यक्तिलाई पहिलो पटक जनकपुरधाममा सम्झाएर पठाउने काम आजैवाट शुरु भएको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button