तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्षद्वयबीच छलफल सकियो, चार नेतालाई गृहकार्यको जिम्मेवारी

फाइल तस्बिर

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी, नेकपाभित्र चर्किएको विवादको समाधान र पार्टी अध्यक्षद्वयबीच सहमति खोज्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा पार्टीको आन्तरिक समस्याको समाधान र अध्यक्षद्वयबीच सहमतिको खाका तयार पार्न महासचिव विष्णु पौडेल र स्थायी समितिका सदस्यहरू शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई गृहकार्य गर्ने जिम्मेवारी दिइएको छ ।

भोलि बिहान अध्यक्षद्वयबीच पुन छलफल हुने बुझिएको छ ।

आजको छलफलमा अध्यक्षद्वयबीच सहजीकरण गर्न पार्टी स्थायी समितका चार नेतासहित उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।

यसअघि अध्यक्षद्वयबीच शुक्रवार पनि छलफल भएको थियो तर कुनै निष्कर्ष निस्केको थिएन ।

अध्यक्षद्वयबीच सहमति जुटाउने उद्देश्यले हिजो शनिवार बोलाइएको स्थायी समिति बैठक भोलि सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले आज भेटवार्ता गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button