तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षाका शर्तसहित मृतकको अन्तिम संस्कार आफन्तले गर्नसक्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका शर्तहरु पालना गर्ने सुनिश्चित भएमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु भएका व्यक्तिको शव आफन्तले आफ्नो धर्म र जातीय परम्परा अनुसार अन्तिम संस्कार गर्न सक्ने जनाएको छ ।

मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले संक्रमित व्यक्तिको शव बाट अन्य व्यक्तिमा संक्रमण हुने सम्भावना अत्यन्त न्यून रहने हुनाले सुरक्षाका सामान्य सजगता अपनाएर शवको व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि मन्त्रालयले निर्धारण गरेको कार्यविधि अनिवार्य पालना गर्ने शर्तमा मृतकका आफन्तलाई आफ्नो परम्परा अनुसार शव व्यवस्थापन गर्न दिन सकिने बताउनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले कोरोना भाइरसका बारेमा फैलिने अनावश्यक हल्ला र अफवाह बाट प्रभावित नहुन र संक्रमित व्यक्ति, संक्रमितको परिवार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विदेश बाट फर्किएका व्यक्तिहरूलाई कुनै प्रकारको लाञ्छना नलगाउन आग्रह गर्नुभएको छ ।

प्रवक्ता गौतमले कोरोना भाइरसको हाल सम्म कुनैपनि औषधी र खोप पत्ता नलागेको हुनाले हल्लाको भरमा कुनैपनि औधषिको सेवन नगर्न समेत आग्रह गर्नुभयो ।

कोरोना भाइरसको महामारी एक सय वर्ष अगाडिको स्पेनिस फ्लु पछाडि मानिसले भोगेको सबैभन्दा ठूलो महामारी भएको हुनाले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने जस्ता सुरक्षा सजगता अपनाएर यसबाट बच्न र संक्रमणको रोकथाम र नियन्त्रणका लागि सहयोग समेत सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button