तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी आयोजनामा अवरोध कायमै

मेलम्ची । मेलम्ची खानेपानी आयोजनामा कार्यरत स्थानीय सप्लायर्स तथा मजदुरहरूले आफ्नो माग सुनाई नभएको भन्दै आन्दोलनलाई जारी राखेका छन् ।

उनीहरूले गत भाद्र २७ गते सचिव र आन्दोलनकारी बिचको ५ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै आयोजना निर्माण सामग्री ढुवानी गर्ने यातायातको साधनहरू सञ्चालनमा रोक लगाउने बताएका छन् ।

पीडितको माग अझै सम्बोधन नभएपछि थप कदम चाल्नु परेको मेलम्ची खानेपानी आयोजना सियमसी पीडित सङ्घर्ष समिति संयोजक विष्णुमणि आचार्यले बताउनुभयो । ‘उहाँहरूले कतै पीडितको माग सम्बोधन गर्ने छनक देखाउनु भएन, आन्दोलन जारी राख्नुको विकल्प छैन’, आचार्यले भन्नुभयो ।

उहाँले खानेपानी सचिव माधव वेलवासेको बेइमानी र लाचारीका कारण पीडित आन्दोलनमा जान बाध्य बनाएको बताउनुभयो । उहाँका अनुसार आयोजनाले पूर्व सहमति अनुसार प्राविधिक समितिको प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरिरहेको छ ।

त्यस्तै जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङ र खानेपानी विकास समितिका उप कार्यकारी रामप्रसाद खरेल सदस्य सचिव रहेको कार्यदलको प्रतिवेदनलाई अवज्ञा गरेको आचार्यको ठहर छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ का सांसद शेरबहादुर तामाङको पटक–पटकको पहललाई समेत बेवास्ता गरिएको उहाँले बताउनुभयो ।

पीडितहरूले पाउनुपर्ने बाँकी रकम भुक्तानी सुनिश्चित नहुँदासम्म आन्दोलन शान्तिपूर्ण जारी रहने मेलम्ची आयोजना सियमसी पीडित सङ्घर्ष समिति संयोजक आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button