तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मी दुई सय नौ जनामा कोरोना सङ्क्रमण : अछामको विनायक बजार ‘सिल’

अछाम । अछाममा शुक्रवार स्वास्थ्यकर्मीसहित दुई सय नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि बजार क्षेत्र शील गरिएको छ ।

शुक्रवार अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा मेडिकल सञ्चालकसमेत रहेको पुरुषमा कोरोना देखिएपछि विनायक बजार सिल गरिएको हो ।

नगरपालिकाका विभिन्न वडाहरूमा र प्रतिकार्यमा खटिएका स्वास्थ्यकर्मीसहित आठ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएसँगै सङ्क्रमणबाट नगर बासीलाई सुरक्षित राख्न पन्चदेवल विनायक बजार सिल गरी बन्दाबन्दीलाई थप कडाइ गरिएको नगरप्रमुख देवराज देवकोटाले बताउनुभयो ।

नगरपालिकाले शुक्रवार आकस्मिक बैठक गरी पछिल्लो अवस्थाले निकट भविष्यमा सङ्क्रमणको जोखिम भयावह हुन सक्ने देखिएकाले अत्यावश्यक सेवा बाहेक अरू सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

खाद्यान्न, तरकारी, डेरी तथा नेपाल सरकार राजपत्रमा उल्लेखित अत्यावश्यक सेवा प्रवाह गर्ने पसलहरू बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म दैनिक ४ घण्टासम्म मात्रै खुल्ला गर्ने, औषधि पसल २४ सै घण्टा खुल्ला गर्ने, नगरपालिकासँग सम्बन्धित कार्य र स्वास्थ्य सेवाका लागि आएका व्याक्तिहरुलाइ मात्रै होटलहरुले गाँस, बासको प्रबन्ध गर्ने निर्णय गरेको छ ।

चिया नास्ताका पसल पूर्ण रूपमा बन्द गर्ने, सेवाग्राही र सेवा प्रदायक कर्मचारीहरूको भेट नहुने गरी नगरपालिकाको सेवा प्रवाह गर्ने कार्यालयको गेट बाहिर सेवाग्राहीको फाइल तथा कागजात राख्न लगाई कर्मचारीले मात्र कार्यालय प्रमुख वा विषयगत शाखामा पुर्‍याउने कार्य गर्ने, उल्लेखित उपायहरू अवलम्बन गर्दा कम्तीमा दुई मिटर भौतिक दूरी कडाइका साथ कायम गर्ने निर्णय आकस्मिक बैठकमा गरिएको छ ।

शुक्रवार सङ्क्रमित हुनेमा साँफेबगर नगरपालिकामा ५२ जना, चौर पाटी गाउँपालिकामा २४ जना, ढकारी गाउँपालिकामा २७ जना, मङ्गलसेन नगरपालिकामा २९ जना, तुर्माखाँद गाउँपालिकामा १९ जना, मेल्लेख गाउँपालिकामा १५ जना, बान्नीगढी जयगढ गाउँपालिकामा २९ जना, कमल बजारमा सात जना र पञ्चदेवल विनायक नगरपालिकामा छ जना नयाँ सङ्क्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

नयाँ थपिएका दुई सय नौ जनासहित अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय २१ जना पुगेको छ ।

कोरोना सङ्क्रमित भएर उपचारपछि अछाममा ४५ जना व्यक्ति कोरोना भाईरस निको भई घर गइसकेका छन् भने सात ९३ जनाको स्वाब परीक्षणको क्रममा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button