तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई हाते ट्याक्टर वितरण

रुकुम । रुकुम पश्चिमका किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले कृषि विकास कार्यालयले हाते ट्याक्टर वितरण गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत उपलब्ध बजेट र किसानको मागका आधारमा जिल्लाका विभिन्न व्यक्ति, समूह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख राजेश शाहले बताए ।

उनका अनुसार आर्थिक वर्ष ०७६–७७ को यान्त्रीकरण वितरण कार्यविधि अनुसार पकेट तथा व्लक कार्यक्रममा आएको बजेटले २९ वटा हाते ट्याक्टर वितरण गरिएको छ । यसका लागि व्यक्ति तथा फर्मलाई ५०, समुहलाई ६० र सहकारीलाई ७० प्रतिशतमा अनुदान दिईएको शाहको भनाई छ ।

यस संगै कार्यालय मार्फत यस आर्थिक वर्षभर विभिन्न ब्यक्ति तथा संस्थालाई ६८ वटा हाते ट्याक्टर बितरण भएका छन । हाते ट्याक्टर मार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसंग जोड्न सजिलो हुने र खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने बताईएको छ ।

पछिल्लो समय गाउँघरमा भएका युवा समेत विदेश पलायन हुने समस्याले कृषि यान्त्रीकरणका लागि हाते ट्याक्टर नै उपयुक्त हुने बताईएको छ ।

रुकुम पश्चिमको आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले अब कृषि र वन पैदावारको औद्योगिकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माको भनाई छ ।

कृषि विकास कार्यालयले जिल्लाका विभिन्न व्यक्ति, समूह, फर्म र सहकारीलाई सहुलियत अनुदानमा गरिएको वितरणले यहाँको कृषि उत्पादनमा यान्त्रीकरणको प्रयोग बढ्ने र उत्पादनले समेत बजारीकरण पाउन सक्ने किसानहरुको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button