तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट पर्यटन क्षेत्रमा गरिएको १० खर्बको लगानी प्रभावित


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सिर्जित असामान्य परिस्थितिका कारण गरिएको लकडाउनबाट आर्थिक तथा समाजिक गतिविधिहरु प्रभावित हुँदा पर्यटन क्षेत्र सवैभन्दा गम्भीर रुपले प्रभावित बन्यो ।

लकडाउन सुरुभएदेखि हालसम्म पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँको नोक्सान भएपनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरबका आयोजनाहरुलाई निरन्तरता दिइएका कारण केही प्रगतिहरु भने देखिएका छन् ।

कोभिड –१९ को विश्वव्यापी संक्रमणबाट सिर्जना भएको परिस्थितिका कारण पर्यटन क्षेत्र गम्भीर रुपमा प्रभावित बन्यो । नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उडड्यान प्राधिकरणको एक अध्ययन कमिटिका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका अवधिमा करिब ३४ अर्बको क्षति भएको छ । यस्तो क्षति साउन ७ गतेसम्म थप ७ अर्ब बढ्ने अनुमान छ ।

पर्यटन क्षेत्रमा ठूलो क्षति भएपनि लकडाउनका कारण अलपत्र परेको विदेशी पर्यटन तथा आन्तरिक पर्यटकहरुको उद्वार गर्नेदेखि राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माणलाई निरन्तरता दिएको छ ।

यस अविधिमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयले नेपालभित्र ६ सय ११ विदेशी पर्यटक सहित ९ सय ५० पर्यटकको उद्धार गरेको छ भने मध्यपूर्व र युरोपका अतिरिक्त १७ मुलुकबाट २ सय १४ उडानमार्फत १६ हजार ६ सय ७२ नेपालीको उद्धार गरेको छ । यस्तै नेपालमा अलपत्र परेका विदेशीसहित १२ हजार ४ सय ८ यात्रुलाई विदेश फर्कन सहजीकरण समेत गरेको छ ।

मन्त्रालयले लकडाउनकै अवधिमा मन्त्रालय अन्र्तगतका राष्ट्रिय गौरबका आयोजनाहरु तथा सांस्कृतिक क्षेत्रको पुर्ननिर्माणलाई निरन्तरता दिएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री योगेश कुमार भट्टराईले दिनुभयो ।

कोरोना संक्रमणबाट पर्यटन क्षेत्रमा गरिएको करिब १० खर्बको लगानी प्रभावित हुनेदेखि यस क्षेत्रमा प्रत्यक्ष तथा आंशिक रोजगारी पाइरहेका ८ लाखको रोजगारी गुमेको छ । पर्यटन क्षेत्र थला परेपछि यसलाई पुनरुत्थान गर्न पर्यटन व्यवसायी र सम्बद्ध संघसंस्थाहरुको सुझावमा मन्त्रालयले राहत तथा सहुलियत दिने तयारी गरेको छ ।

पर्यटन व्यवसायको पुरुत्थानका लागि मन्त्रालयले तयारी गरिरहेको समेत जानकारी मन्त्री योगेश कुमार भट्टराईले दिनुभयो ।

कोभिड –१९ का कारण लामो समय प्रभावित बनेको पर्यटन क्षेत्रलाई सुरक्षाका उपायहरु अपनाउनदै क्रमश खुला गर्ने मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button