तपाईँ सुन्दै हुनुहुन्छः

रोजगारी गुमाएका युवाहरुलाई दैनिकी बन्दै रोजगार कार्यक्रम

 
सल्यान । सल्यानमा बेरोजगारीको समस्या भोगिरहेका हजारौं युवाहरुका लागि प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम एक आशाको किरण बनेको छ ।

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाएका युवाहरुका लागि दुई कार्यक्रम निकै फलदायी भएको छ ।

विपन्न वर्ग, समुदाय, वेरोजगार युवा, महिला, दलित, जनजाति लगायत लक्षित वर्गलाई समावेशीताको आधारमा काम गर्ने पाउने उद्देश्यका साथ दुई कार्यक्रम सञ्चालन भइरहेको सामाजि विकास कार्यालय सल्यानले जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिकामा मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ८ सय ६० युवाहरुले रोजगारी पाएको नगरपालिका रोजगार संयोजक भिम पुनले बताए । बेरोजगार र कोरोनाका कारण थप मारमा परेकालाई रोजगारी सिर्जना भएको उनको भनाई छ । उनले भने कार्यक्रमले कोरोनाले रोजगार गुमेकालाई राहत मिलेको छ । प्रधानन्त्रीमन्त्री रोजगार कार्यक्रममा ७२ लाख र मुख्यमन्त्री रोजगार कार्यक्रममा ६४ लाख बजेट नगरपालिकामा आएको उनको भनाई छ ।

सडक मर्मत, सिँचाई कुलो निमार्ण, विद्यालयका फिल्ड निमार्ण जस्ता कार्यमा युवाहरुले लागेको दार्मा गाउँपालिका सल्यानले जनाएको छ । लकडाउनका क्रममा रोजगारी गुमाएका तथा बेरोजगार ९७७ जनाले रोजगारी पाइरहेको दार्मा गाउँपालिका रोजगार संयोजक किरण गौतमले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममा सात वटा योजना र मुख्यमन्त्री रोजगार कार्यक्रममा ३ वटा योजना सञ्चालन भइरहेको उनको भनाई छ । दक्ष कामदारले दिनमा नौ सय रुपैया र अदक्ष कामदारले दैनिक ६ सय रुपैयाका दरले रकम पाउने उनको भनाई छ ।

कोरोना भाइरसको विषम परिस्थितिमा सामाजिक दुरी कायम गर्दै सुरक्षा तथा स्वास्थ्य सामाग्रीको प्रयोग गरी समुहगत रुपमा आचारसहिंता सहित काममा लगाईएको कुमाख गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा कुमाख गाउँपालिकालाई शसर्त अनुदान तर्फ ७६ लाख बजेट प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उपलब्ध भएको बताउदै गाउँपालिका अध्यक्ष दिलमाया बुढाले कोभिड १९ले रोजगारी गुमाएकाहरुका लागि गाउँमै रोजगारी दिलाएको बताइन ।

बजेटको ७५ प्रतिशत पारिश्रमिकमा जाने र बाँकी रकम औजार खरिद, निमार्ण सामाग्री र सुरक्षा उपकरणमा खर्च गरिने कुमाख गाउँपालिका रोजगार संयोजक बसन्त कुमार पुनले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button