तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका स्थानीय तहमा आइसोलेसन निमार्ण कार्य तीव्र

सल्यान । सल्यानका स्थानीय तहहरूले आइसोलेसन निमार्ण कार्यलाई तीव्रता दिएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले आइसोलेसन निमार्णलाई तीव्रता दिएका हुन ।

बनगाड कुपिण्डे नगरपालिकाले एक सय, कपुरकोट गाउँपालिकाले ५० शय्याको आइसोलेसन निमार्ण गरेका छन् ।

बनगाड नगरपालिकाले श्री प्रभाकर माध्यमिक विद्यालयको भवनमा अस्थायी एक सय शय्याको आइसोलेसन निमार्ण गरेको छ भने कपुरकोट गाउँपालिकाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमचौरमा ५० शय्या र दार्मा गाउँपालिकाले जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा ३५ शय्याको आइसोलेसन निमार्ण गरेका छन् ।

सम्भावित कोरोना सङ्क्रमितको उपचारलाई प्रभावित हुन नदिन स्थानीय तहरुमा आइसोलेसन निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

बनगाड नगरपालिका र कपुरकोट गाउँपालिकाले आइसोलेसन निमार्ण सम्पन्न गरेको भएता पनि बागचौर नगरपालिकाले निमार्ण थालनी नगरेको उहाँको भनाई छ ।

कोरोना सङ्क्रमितहरूलाई उपचारको सहजताका लागि प्रदेश सरकारको कोषबाट बजेट विनियोजन भई स्थानीय तहहरूमै आइसोलेसन निमार्ण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जाँदा उपचारमा समस्या नहोस् भनेर आइसोलेसन निमार्ण गरिएको छ ।

यस अघि जिल्ला विपद् व्यवस्थापन समितिले शारदा नगरपालिकाको सल्यान बहुमुखी क्याम्पसमा एक सय शय्या र स्वास्थ्य कार्यालय सल्यानले अस्पतालमा २५ शय्याको आइसोलेसन निमार्ण गरी सकेका छन् ।

जिल्ला भर दुई सय ७५ शय्याको आइसोलेसन निमार्ण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button