तपाईँ सुन्दै हुनुहुन्छः

हुलाक प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध जनही करिब २ करोड बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले हुलाक कार्यालयका प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंहको मिलेमतोमा गलत दरबन्दी तयार पारी उनीहरुको नाममा तलब भत्तासमेत लिएको र कार्यालय भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

आजै अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय आधारभूत विद्यालय, पर्साका तत्कालिन प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध रकममध्ये ६ लाख रुपैयाँ कुनै पनि काम नगरी हिनामिना गरेको पुष्टि भएकाले उनी विरुद्द आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

त्यसैगरी अख्तियारले इलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष चक्र बहादुर साउद विरुद्ध सामुदायिक बनको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा आज उनीहरु विरुद्द जनही ६१ हजारभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button