तपाईँ सुन्दै हुनुहुन्छः

तरकारीमा आत्मनिर्भर बनाउन ‘आशाको बिउ’

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि कार्यक्रम ‘आशाको बिउ’ सञ्चालनमा ल्याइएको छ ।

गैरसरकारी संस्था द स्मल वल्र्ड (टिएसडब्लु)को प्रायोजन, सोलुदूधकुण्ड नगरपालिकाको सहकार्य र सामना महिला संस्थाको सहजीकरणमा ‘आशाको बिउ’ कार्यक्रममार्फत नगर क्षेत्रभित्रका महिलाहरूलाई विभिन्न जातका तरकारीको बिउ वितरण गरिएको हो ।

नगरपालिकाका ११ वटै वडामा महिलाहरूको प्रत्यक्ष सहभागितामा कार्यान्वयन गरिने कार्यक्रम अन्तरगत महिला समूह गठन गरी मौसमी तरकारीका बिउ विजन वितरण थालिएको छ ।

तरकारीको बिउ वितरण गर्दै द स्मल वल्र्डका अध्यक्ष कर्मा शेर्पाले महिलालाई उत्पादनसँग जोडेर तरकारीमा आत्मनिर्भर र आयआर्जनलाई समेत टेवा पुर्‍याउनका लागि यस्तो कार्यक्रम ल्याएको बताउनुभयो ।

कोरोना कहरका कारण बाह्य उत्पादन आयात गर्ने अवस्था न्यून हुने र तरकारीको अभाव खेप्नुपर्ने सम्भावित सङ्कटलाई टार्नका लागि पनि ‘आशाको बिउ’ कार्यक्रम प्रभावकारी हुने उहाँको विश्वास छ ।

पहिलो चरणको कार्यक्रम अन्तरगत तरकारीका बिउ वितरण गरिरहेको र तरकारी उत्पादनमा मेहनत गर्ने महिलालाई दोस्रो चरणमा टनेल वितरणको योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

उहाँले समय र मौसम सुहाउँदो क्रियाकलाप निरन्तर कार्यक्रम सञ्चालन गर्ने र कार्यक्रममा आबद्ध महिलाहरूको बालबालिकालाई पनि छात्रवृत्ति कार्यक्रम ल्याउने समेत योजना रहेको बताउनुभयो ।

सामना महिला संस्थाकी अध्यक्ष टंकीमाया बस्नेतले यो कार्यक्रमले महिलाहरूको आम्दानी र जीवनशैलीमा परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो । गरिरहेको तरकारी खेतीमा अलिकति प्राविधिक ज्ञान र प्रविधिलाई मिसाउन सके घरको आवश्यकता पुरा गरेर बजारसम्म पुर्‍याउन सकिने उहाँको भनाइ छ । महिला दिदीवहिनीहरुले लगनशील भएर काम गरेमा आत्मनिर्भरता र नेतृत्व विकास हुने भन्दै उत्पादित तरकारीको बजारीकरणमा पनि संस्थाले सहयोग गर्ने बताउनुभयो ।

टिएसडब्लुले बिउसँगै  कृषि प्राविधिक पनि परिचालन गरेको छ । बिउ वितरणसँगै खेती प्रविधिका बारेमा अभिमुखीकरण पनि गरिरहेको छ । प्राविधिकको निरन्तर सहयोग रहने भएकाले कार्यक्रम सफल बन्नेमा ढुक्क रहेको टिएसडब्लुका सचिव उत्रमान राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button