तपाईँ सुन्दै हुनुहुन्छः

पर्वत अस्पतालका सेवाग्राहीको पनि कोरोना परीक्षण गरिँदै

पर्वत । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीसहित समुदायमा अन्य दुई जनालाई कोरोना सङ्क्रमण देखिएपछि अस्पतालमा उपचारका लागि आएका सबै सेवाग्राहीको स्वाब परीक्षण गर्ने भएको छ ।

असार २ गते देखि ४ गतेसम्म पर्वत अस्पतालमा आई उपचार गराएका सबैलाई कोरोना परीक्षण गर्नुपर्ने भएकाले सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कोरोना सङ्क्रमण देखिएका स्वास्थ्यकर्मीहरुले नै बिरामी जाँचेको हुनाले उनीहरूमार्फत सेवा लिएका सबैको विवरण खोजी गरी स्वाब परीक्षण गर्न थालिएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएका दुई जना डाक्टर, एक नर्स र एक कार्यालय सहयोगी ४ गतेसम्म अस्पतालमै काममा खटिएको हुनाले उनीहरूमार्फत समुदायसम्म कोरोना फैलिएको आशङ्कामा सेवाग्राही सबैको कोरोना परीक्षण गर्नुपरेको देवकोटाले बताउनुभएको छ ।

आज कोरोना सङ्क्रमण पुष्टि भएका दुई जना पुरुष स्वास्थ्यकर्मीसँग सम्पर्कमा रहेका व्यक्ति रहेको अस्पतालले खुलासा गरेको छ ।

यसअघि स्वास्थ्यकर्मी र कर्मचारीसहित ८१ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा आज २७ जनाको रिपोर्ट आएकोमा दुई जनाको पोजेटिभ रिपोर्ट आएको थियो भने अन्य २५ जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button