तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा कोरोना जितेर घर फर्किनेको सङ्ख्या बढ्दै

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा आज (आइतबार)सम्म पाँच सय ३१ जना कोरोना जितेर घर फर्केको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज प्रदेश अस्पताल सुर्खेतबाट तीन जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसन सेन्टर सल्यानबाट तीन जना, नौमुले आइसोलेसन सेन्टर दैलेखबाट सात जना र जाजरकोट अस्पताल जाजरकोटबाट एक जना गरी कुल १४ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरूको सङ्ख्या पाँच सय ३१ पुगेको हो ।

क्वारेनटिन र आइसोलेसनमा २५ दिन पुगेका र दुई पटकसम्म पिसिआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि डाक्टरकै सल्लाहमा घर पठाउने गरिएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा आइतबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ५६ जना पुगेका छन् ।

प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण केन्द्रमा परीक्षणबाट सल्यानका छ जना, सुर्खेत दुई जना, दैलेखका दुई जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशाला परीक्षणबाट एक जना गरी कुल ११ जनामा कोरोना पुष्टि भएको हो ।

कर्णाली प्रदेशमा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको सङ्ख्या चार रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button