तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९सँगै पहिरो र डुबानबाट समुदायलाई जोगाउन विपद् एकीकृत व्यवस्थापन योजना

भक्तपुर । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणका बिच वर्षाको समयमा हुन सक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापन योजना अघि सारेको छ ।

समितिको बैठकमा विपद् व्यवस्थापन योजना प्रस्तुत गर्दै वीर दल गण सुर्यबिनायकका गणपति प्रमुख कर्नेल शिवप्रसाद पौडेलले कोभिड–१९ नियन्त्रणमा भक्तपुरले खरीपाटी क्वारेनटाइन सुरुवातसँगै हालसम्म देशमै उदाहरणीय काम गरिरहेको बताउनुभयो ।

भक्तपुरको टोलीले लकडाउनका बेला कोरोना सङ्क्रमण देखिएका धुलिखेल र ललितपुरमा समेत गएर मृतकको शव व्यवस्थापन गरेको बताउँदै उहाँले कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै चार वटा एम्बुलेन्स मोडिफाई गरी सञ्चालनमा रहेको र भक्तपुर क्यान्सर अस्पतालको एम्बुलेन्सलाई मोडिफाई गर्ने कार्य भइरहेको बताउनुभयो ।

नुवाकोटमा रहेको केएमसी अस्पताललाई कोरोना विशेष अस्पतालको रूपमा विकास गर्दै जानुका साथै नेपाल कोरिया अस्पतालमा समेत पीसीआर परीक्षणका लागि सरकारी स्वीकृतिका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।

भक्तपुर अस्पतालमै पीसीआर सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर अस्पतालमा कोभिड उपचारका लागि भवन तैयार भइसकेकोले उपचारको लागि तीव्र तयारी गर्नुपर्ने बताउनुभयो ।

सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै सेवाग्राही र कर्मचारीलाई जोगाएर सेवा दिन समिति चनाखो रहेको बताउनुभयो । सूचना सम्प्रेषण र समन्वयमा स्थानीय तहसँग अझै जोड दिनुपर्ने बताउँदै उहाँले विकास निर्माणमा सरोकारवाला सरकारी कार्यालयबिच समन्वयको अभाव रहेको उल्लेख गर्नुभयो ।

कर्नेल पौडेलले कोरोना भाइरस र बर्षायाममा हुन सक्ने सम्भावित बिपदको पूर्व तयारीका लागि तालिम प्राप्त जनशक्ति र स्रोत साधनको भण्डारण तयारी अवस्थामा रहेको बताउनुभयो ।

विगतका वर्षामा हनुमन्ते नदी आसपास हुने डुबानले समस्या निम्त्याउने गरेको बताउँदै यस वर्ष क्षति हुन सक्ने सम्भावित स्थानको पहिचान गरी अत्यावश्यक बस्तुको तैयारीलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

बिपदमा आवश्यक जनशक्तिलाई तालिम र पूर्व अभ्यास समेत गराएर तयारी अवस्थामा राखिएको बताउँदै उहाँले भक्तपुर विपद् सामग्री भण्डारणमा धनी रहेको उल्लेख गर्नुभयो । खोजतलास र उद्धारका लागि समेत गतिशील र सङ्गठित जनशक्ति तयार रहेको उहाँको भनाई छ ।

कार्यक्रममा सांसद महेश बस्नेतले कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै बर्षायाममा बाढी पहिलोले हुन सक्ने क्षति रोक्न ल्याइएको प्रति कार्य योजना प्रभावकारी हुने बताउँदै विपद् जोखिम न्यूनीकरणमा सरोकारवाला सरकारी कार्यालयबिच समन्वय जरुरी रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा विकास विरोधी मोर्चा खडा हुने गरेको बताउँदै प्रकोपमा क्विक रेस्पोन्सका लागि अभावका बिच पनि भक्तपुर तयार रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा विपद् व्यवस्थापनका लागि स्थानीय तह लगायत सरोकारवाला सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका अध्यक्ष बचन देउजा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, डिभिजन बन अधिकृत प्रेम खनाल, रेडक्रस भक्तपुरका मन्त्री परशुराम पाण्डे,गैसस महासङ्घका अध्यक्ष सोम शर्मा बजगाईँ, पत्रकार महासङ्घका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले कोरोना भाईरस नियन्त्रण र सम्भावित बाढी पहिरो र डुबानको नियन्त्रणका लागि गर्नुपर्ने तैयारी बारे राय प्रदान गर्नुभएको थियो ।

बैठकले रायसहित मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना पारित गरेको छ । मनसुनको समयमा विपद्का घटना हुन सक्ने स्थानमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने तथा कोभिड–१९ को सङ्क्रमणको रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्यसँगै खोज उद्धार तथा राहतको कार्य गर्दा कोरोना फैलन नदिन पूर्व तैयारी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button