तपाईँ सुन्दै हुनुहुन्छः

हिल्सामा बिओपी स्थापित

सिमकोट । छिमेकी देश चीनसँग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलो पटक सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । बिओपी स्थापना गर्न केही दिनअघि मात्र बलको टोली हिल्सा पुगेको थियो ।

डिआइजी इञ्जिनीयर प्रतापबाबु श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको उपस्थितिमा सीमानाका हिल्सामा २५ सशस्त्र प्रहरी रहने गरी बिओपी स्थापना गरिएको हुम्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख मोहन विष्टले जानकारी दिनुभयो ।

सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक विष्टको नेतृत्वमा दश जनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर गत जेठमा हिल्सा पुगेको थियो ।
टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि आज बिओपी स्थापना गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानूनी गतिविधिको पनि निगरानी गर्नेछ । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो । यस वर्षदेखि सशस्त्र प्रहरी पनि नेपालको सीमा रक्षाका निम्ति खटिएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button