तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जबाट जेठमा ७ अर्ब ५ करोड राजश्व असुली

वीरगञ्ज । लकडाउनको बावजुद पनि मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७६–७७ को जेठ महिनामा ७ अर्ब ५ करोड रुपैयाँ मात्र राजश्व असूली गरेको छ ।

पेट्रोलियम पदार्थ सहित नयाँ सवारी साधनको आयात तथा दैनिक आपूर्तिका सामानमा समेत ठूलो परिमाणमा गिरावट आएको बेला वीरगञ्ज भन्सार कार्यालयले लकडाउनको समयमा समेत ७ अर्ब ५ करोड रुपैयाँ राजश्व असूली गरेको प्रमुख भन्सार प्रशासक ढुण्डीराज निरौलाले जानकारी दिनुभयो ।

वीरगञ्ज भन्सारलाई अर्थमन्त्रालय भन्सार विभागले चालू आर्थिक वर्षको जेठ महिनामा १६ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो ।

तर कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न जारी लकडाउनको प्रभाव राजश्व असूलीमा पर्दा वीरगञ्ज भन्सारले तोकिएको लक्ष्यको ४२ प्रतिशत मात्र राजस्व संलकन गर्न सफल भएको निरौलाले बताउनु भयो ।

चालू आर्थिक वर्षको जेठसम्ममा वीरगञ्ज भन्सारले १ खर्ब ७२ अर्ब रुपैयाँ राजश्व असूलीको लक्ष्य पाएकोमा जेठ मसान्त सम्म १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

वीरगञ्ज भन्सारले गत आर्थिक बर्ष २०७५–७६ को ११ महिनामा १ खर्ब ३५ अर्ब ३७ करोड रुपैयाँ राजश्व असुली गरेको थियो ।

लकडाउनसँगै इन्धन, नयाँ सवारी साधन, औद्योगिक कच्चा पदार्थको आयातमा ठूलो परिमाणमा गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव राजस्व असुलीमा परेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button