तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा निर्णय : नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछिमात्र नागरिकता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नेपाली नागरिकता प्राप्त गर्नका लागि ७ वर्षसम्म नेपालमा बसेको हनु पर्ने निर्णय गरेको छ ।

शनिवार बिहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि विदेशी नागरिकता तथा अन्य कागजात परित्याग गर्ने प्रक्रिया अघि बढाएको अवस्थामा नागरिकता दिने व्यवस्था गर्न उपयुक्त हुने निर्णय गरेको हो ।

बैठकपछि रेडियो नेपालसँग कुरा गर्दै नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिला ७ वर्ष नेपालमा बसेको हुनु पर्ने र विदेशी नागरिकता वा सो सरहका कागजातहरू परित्याग गर्ने प्रक्रिया सुरु गरेको पुष्टि हुने कागजातका आधारमा नेपाली नागरिकता दिन उपयुक्त हुने निर्णय भएको बताउनुभयो ।

त्यसै गरी बैठकमा नेपालको संविधानले आमाका नाममा पनि नागरिकता दिने व्यवस्था गरेको भए पनि त्यो व्यवस्था कार्यान्वयन गर्न कठिनाइ भएको विषयलाई ध्यानमा राखी ऐनको संशोधनको क्रममा त्यो व्यवस्थालाई सहज बनाउने गरी प्रस्ट पार्नु पर्ने निष्कर्ष पनि निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि विचाराधीन रहेको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगतिकृतबारे सहमति जुट्न सकेको छैन ।

पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि सत्तारुढ नेकपाको यो धारणा आएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button