तपाईँ सुन्दै हुनुहुन्छः

बीआरआई चीन र नेपालको  विकास तथा समृद्धिको अवसरः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)’ को पक्ष भएकाले हिमालय सीमापार बृहत् सम्पर्क सञ्जालका कारण साझा विकास र समृद्धिको अवसर प्राप्त हुने बताउनुभएको छ ।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीका स्कुल विभागले आज आयोजना गरेको भर्चुअल संवादमा पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीबाट भाग लिँदै अध्यक्ष दाहालले नेपाल र चीनबीचको दुईपक्षीय आपसी सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा आधारित रहेकाले परस्पर सम्मान, सार्वभौम समानता, एर्काका साझा चासो र संवेदनशीलताप्रतिको बुझाइमा हुर्कँदै आएको उल्लेख गर्दै असल छिमेकी र मित्रताको विशेषता आपसी सम्बन्ध र विश्वास भएको जनाउनुभयो ।

हङकङ र ताइवानको मुद्दामा नेपालले स्पष्टरुपमा चीनलाई समर्थन गर्ने स्पष्ट गर्दै उहाँले दुई देशको साझा विकास, समृद्धि र शान्ति तथा सौहार्दताका लागि मिलेर काम गर्न पार्टी तत्पर रहेको पनि जनाउनुभयो ।

गत वर्ष नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक औपचारिक भ्रमणको स्मरण गर्दै अध्यक्ष दाहालले परिवर्तित समयमा आपसी सम्बन्धमा नयाँ आयाम दिने समय आएको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले दुई पार्टीबीचको परस्पर भ्रमण आदान प्रदान र अन्तक्रियालाई निरन्तरता दिइने दुईपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दामा संयुक्त तालीम र सहकार्य गरिने बताउनुभयो । कोरोना सङ्कटको शुरुआतका कारण गत डिसेम्बरमा आफ्नो पूर्वनिर्धारित चीन भ्रमण स्थगन भएको उल्लेख गर्दै उहाँले कोरोनाको स्थिति साम्य भएपछि भ्रमण गरिने योजना सुनाउनुभयो ।

कोरोनाको उपचार र रोकथाममा चीनको पहलको सराहना गर्दै अध्यक्ष दाहालले नेपाललाई यस स्थिति र अरू अवस्थामा आर्थिक सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

सो अवसरमा दुवै देशका कम्युनिष्ट पार्टीका केन्द्रीय स्कुल विभागका प्रमुख तथा नेताले विचार आदान प्रदान गर्नुभएको थियो । गत वर्ष दुई पार्टीबीच संयुक्त वैचारिक प्रशिक्षण र भ्रमण आदान प्रदानको सहमति भएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button