तपाईँ सुन्दै हुनुहुन्छः

नेता पौडेलद्वारा स्वास्थ्य सामग्री सहयोग

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना सङ्क्रमितको उपचार भइरहेको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सो केन्द्रलाई उहाँले २० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गर्नुभएको हो । केन्द्रीय सदस्य पौडेलले उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्दै स्वास्थ्यकर्मीको हौसला बढाउन स्वास्थ्य सामग्री सहयोग गरेको बताउनुभयो ।

केन्द्रका निमित्त कार्यकारी निर्देशक डा श्रेष्ठले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई यस्तो सहयोगले हौसला मिल्ने बताउनुभयो । केन्द्रमा नौ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

यसैगरी सङ्घीय सांसद कलिला खानले व्यास नगरपालिकास्थित क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । सांसद खानले २० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एक हजार सर्जिकल मास्क, ९५ थान एन–९५ मास्क, १० थान स्यानिटाइजर, १० थान चस्मा, ५०० थान पञ्जा सहयोग गर्नुभएको हो । उहाँले उक्त सामग्री नगरपालिकाका उपप्रमुख मीरा जोशीलाई हस्तान्तरण गर्नुभयो ।

यसैगरी सांसद खानले व्यास नगरपालिकाका विभिन्न क्वारेन्टिनको अनुगमन गर्दै त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिनुभएको छ । साथै उहाँले दमौली अस्पतालका लागि सात थान पीपीई, जिल्ला प्रशासन तनहुँका लागि चार थान पीपीई, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button