तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा जोर विजोर नियममा थप कडाई

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाई गरेको हो ।

महाशाखाले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि उपत्यकाको मुख्य मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिईरहेको छ भने अर्कातर्फ जोर विजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ ।

आज मात्रै अटेर गरी जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ९४८ वटा दुई पाङ्ग्रे, २४७ भाडाकार (ट्याक्सी) र १६३ वटा साना तथा ठूला सवारी गरी जम्मा १,३५८ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभएको छ ।

एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको सख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए ।

हालसम्म लकडाउन कार्यान्वयनमा आमनागरिकले पुर्‍याएको सहयोग प्रति आभार व्यक्त गर्दै अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर विजोर प्रणाली उल्लङ्घन गर्ने १२,५८२ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button