तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेनटाइनमै किरिया बस्दै

बैतडी । बैतडीका एक जना क्वारेनटाइनमै किरियामा बसेका छन् । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लिलाधर भट्ट आफ्ना बुवाको किरिया गर्न क्वारेनटाइनमै बसेका हुन् ।

भारतको दिल्लीमा काम गर्दै आएका भट्ट चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेनटाइनमा बसिरहेका छन् । भट्टका बुवा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उहाँले क्वारेनटाइनमै किरिया सुरु गरेको हुन ।

घरमै बसेर किरिया गर्न व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीय केशव भट्टले जानकारी दिनुभयो ।

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेनटाइनमा राख्नुपर्ने निर्देशन अनुसार नै उहाँलाई क्वारेनटाइनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।

लिलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उहाँले बताउनुभयो ।

पत्रकार महासङ्घ बैतडीको भवन निर्माण हुँदै
नेपाल पत्रकार महासङ्घ बैतडीको कार्यालय भवन निर्माण कार्य भइरहेको छ ।  दशरथचन्द नगरपालिका–४स्थित गढीमा बन्न लागेको उक्त भवन सुदूरपश्चिम प्रदेश सरकारको २७ लाखको सहयोगमा निर्माण हुन लागेको पत्रकार महासङ्घ बैतडीका सचिव नरी बडूले जानकारी दिनुभयो ।

महासङ्घले गढीमा पाँच लाख ८० हजारमा जमिन किनेको र त्यसपश्चात् भवन निर्माणको काम अघि बढेको उहाँले बताउनुभयो ।

भवन निर्माणको ठेक्का बिग बील एण्ड कम्पनीले पाएको र भुईतला असार मसान्तसम्म सम्पन्न गरिसक्ने पत्रकार महासङ्घ बैतडीका अध्यक्ष प्रेम भाटले बताउनुभयो । तीन तलाको बन्ने उक्त भवन पूर्ण रूपमा सम्पन्न हुन एक वर्ष अझै लाग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button