तपाईँ सुन्दै हुनुहुन्छः

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाइने

लागोस –नाइजेरियामा बलात्कार तथा लैङ्गीक हिंसा विरुद्धको राष्ट्रिय अभियान शुरु गर्न लागिएको छ । सूचना तथा संस्कृति मन्त्री लाइ मोहम्मदले बिहीबार देशव्यापी अभियानको शुरुवात गर्न लागिएको जानकारी दिनुभएको हो ।

कोरोनाभाइरसका कारण उत्पन्न महामारीकै बेलामा पनि बलात्कार र लैङ्गीक हिंसा सम्वन्धी धेरै घटनाहरु भएकाले अभियान शुरु गर्नु परेको उहाँको भनाई छ । यस्ता घटनाहरुलाई नियन्त्रण तथा न्युनिकरणका लागि धेरै क्रियाकलापहरु गर्ने सरकारले तयारी गरेको मन्त्री मोहम्मदले बताउनुभयो ।

महामारी चलिरहेको यस अवस्थामा जनवरीदेखि मे महिनासम्मको अवधिमा ७१७ ओटा बलात्कारका घटना दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

नाइजेरियाका प्रहरी प्रमुख मोहम्मद अडामुले पनि ७१७ ओटा बलात्कारका घटनामा संलग्न भएको आरोपमा ९७७ जनालाई पक्राउ गरिएको गत सोमबार नै सार्वजनिक गर्नुभएको थियो ।

सूचना मन्त्रीले भने अहिले शुरु गर्न लागिएको अभियान अन्तर्गत विषेश गरी हिंसा तथा बलात्कारजन्य घटना हुन नदिनका लागि चेतनामुलक कार्यक्रमहरु बढी गरिने जानकारी दिनुभयो । “अहिलेसम्मको विवरण हेर्दा प्रत्येक महिना औसतमा १४३ ओटा र दैनिक ५ ओटा यस्ता घटना हुने गरेको पाइएको छ, हामीले यसैका बारेमा छलफल गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

यस अभियानका लागि सूचना तथा संस्कृति मन्त्रालयले महिला मामिला मन्त्रालयसँग पनि सहकार्य गर्ने उहाँले जानकारी दिनुभयो । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button