तपाईँ सुन्दै हुनुहुन्छः

होम क्वारेन्टीनमा एकको मृत्यु

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा एक व्यक्तिको होम क्वारेन्टीनमा मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडा नं ५ मैनडाँडाका ६९ बर्षीय पुरुषको हिजो राति मृत्यु भएको छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो । पन्थका अनुसार मृतकलाई प्यारालाइसेसको समस्या थियो ।

उपचारपछि गत जेठ २५ गते भारतबाट आएकाले होम क्वारेन्टीनमा छुट्टै व्यावस्थापन गरिएको उहाँले बताउनुभयो ।

मृतकको पहिले आरडिडी पोजेटिभ आएको छ । असार ४ गते स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्यप्रसाद पौडेलले बताउनुभयो ।

मृतक पुरुषलाई भारतबाट हेरचाह गर्दै नेपाल ल्याएका अर्का एक जनाको भने आरडिटी परिक्षण नेगेटिभ आएको पौडेलले जानकारी दिनुभयो ।

आरडिटी पोजेटिभ आएकाले मृतक पुरुषको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । गत जेठ १७ गते छत्रकोट गाउँपालिकाकै वडा नं ४ दिगामको आदर्श मावि क्वारेन्टीनमा बसेका ५६ बर्षीय चन्द्र बहादुर परियारले आत्महत्या गरेका थिए । भारतबाट गाउँ आएकै दिन क्वारेन्टीन नजिकै दबदबेको रुखमा झुण्डिएर आत्महत्या गरेको वडाध्यक्ष डिलाराम न्यौपानेले जानकारी दिनुभयो ।

छत्रकोट गाउँपालिकामा हिजो २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्लामा अहिलेसम्म एक सय पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना दुई जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button