तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै आइसोलेसन स्थापना गर्न नीजि मेडिकल कलेजले दियो नगरपालिकालाई श्यया  

चितवन   ।  चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आइसोलेसनका लागि १० थान श्यया उपलब्ध गराएको छ ।

कलेजले रु सात लाखमा खरिद गरेर ती श्यया नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार कलेजले उपलब्ध गराएका श्यया आइसोलेसनमा राखिएको छ ।

कलेजले स्वास्थ्य उपचारमा आवश्यक सहयोगको आश्वासनसमेत दिएको ढकालले जानकारी दिनुभयो । हाल माडीको आइसोलेसनमा सात जना कोरोना सङ्क्रमित रहेका छन् । क्वारेन्टिनमा २५६ जना छन् ।

सङ्क्रमण देखिएपछि आफ्नै आइसोलेसनमा राखेर उपचार गर्ने माडी जिल्लाको एकमात्र नगरपालिका हो । आइसोलेसन बन्नु अघि र पछि समस्या देखिएपछि सात जनालाई भरतपुर अस्पताल पठाइएको थियो । ढकालले अब दुई श्ययाको भेन्टिलेटरसहित सघन उपचार कक्ष माडीमा नै स्थापना गरिने बताउनुभयो ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कोरोनाको सङ्क्रमण देखिएपछि विभिन्न ठाउँमा सहयोग गरिएको बताउनुभयो । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० श्यया पछि फिर्ता गर्ने गरी कलेजले दिएको छ ।

यसैगरी फिर्ता नगर्ने गरी माडीसँगै भरतपुर महानगरपालिका वडा नम्बर ५ मा १० श्यया उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापना गर्दा सोही मेडिकल कलेजका पाँच जना चिकित्सक प्राविधिकले सहयोग गरेका थिए । न्यौपानेका अनुसार अहिले पनि दुई जना त्यही कार्यरत छन् । कलेजले निजी क्षेत्रबाट पिसिआर परीक्षणका लागि रु पाँच करोड खर्च गरेर प्रयोगशाला तयार गरेको छ । न्यौपानेले सरकारले चलाउन चाहेमा प्रयोगशाला दिने भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेकोसमेत जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button