तपाईँ सुन्दै हुनुहुन्छः

झापा कारागारको सुरक्षा जिम्मा सेनालाई


झापा, भद्रपुर । झापा कारागार भद्रपुरको सुरक्षामा नेपाली सेनालाई खटाइएको छ ।

कारागारको सुरक्षा दिँदै आइरहेको नेपाल प्रहरीलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अन्यत्र खटाइएपछि कारगार सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो । चारालीस्थित नयाँ श्रीनाथ गणबाट खटिएका सेनाले कारागारको सुरक्षाको जिम्मा लिएको बताइएको छ ।

भारतसँगको सीमा नाकामा हुने भीड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभएको छ । जिल्ला सुरक्षा समिति अन्तर्गत बाहिरी सुरक्षा सेनाले गर्ने र प्रहरीले आन्तरिक अत्यावश्यक काम समन्वय गरी मिलाइने नयाँ श्रीनाथ गणका कर्णेल अमरजगं थापाले बताउनुभयो ।

कारागारमा रहेका प्रहरीले कैदीबन्दीलाई अदालत, अस्पताल लैजाने–ल्याउने र भेटघाटको व्यवस्थापन गर्ने बताइएको छ । हाल कारागारमा महिला तथा पुरुष कैदीबन्दी गरी १ हजार १४० जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button