तपाईँ सुन्दै हुनुहुन्छः

९ वर्ष बित्दा पनि महायज्ञको आयव्याय सार्वजानिक नभएको गुनासो


स्याङ्जा । रामनदी धाम राम्दीमा वषौँ अगाडि गरिएको महायज्ञको आयव्याय सार्वजानिक नभएको भन्दै सरोकारवालाहरुले पत्रकार सम्मेलन मार्फत ध्यानार्कषण गराएका छन् ।

२०६८ साल कार्तिक १८ गतेदेखि २५ गतेसम्म स्याङ्जाको साविक मालुङ्गा गाविस हालको गल्याङ नगरपालिका १ स्थित स्याङ्जा र पाल्पाको संगमस्थल रामनदी धाम राम्दीमा गरिएको श्रीमाद भागवत सप्ताह महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवबाट संकलित रकमको आयव्याय सार्वजनिक नगरिएको र उद्देश्य बमोजिम भौतिक निर्माण समेत नभएको भन्दै आज पत्रकार भेटघाट गरी जानकारी दिईएको हो ।

महायज्ञ समापन गरिएको अघिल्लो दिन सम्म उठेको १ करोड ६६ लाख ४० हजार २४३ रुपैँया र उक्त रकमको व्याज १ करोड ४१ लाख ४४ हजार २०६ रुपैँया समेत गरी ३ करोड ७ लाख ८४ हजार ४ सय ४९ रुपैँयाको आयव्याय सार्वजनिक नगरेको, पटक पटक प्रतिवद्धता जनाईए पनि कुनै कार्य नभएको भन्दै सम्बन्धीत निकायमा गुहार गर्दा कुनै सुनुवाई नभएपछि पत्रकार मार्फत जानकारी गराईएको पे्रस विज्ञप्तीमा भनिएको छ ।

गल्याङका नारायणप्रसाद अधिकारी र बोधराज भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा महायज्ञ मुल कार्यसम्पादन समितिका अध्यक्ष दिलिपप्रताप खांण, महासचिवमा नविन पाण्डे, र कोषाध्यक्षमा श्यामप्रसाद बस्याल रहेको कुरा प्रमाणमा संलग्न पर्चा र महायज्ञ रेकर्डमाबाट पुष्टी हुने पनि विज्ञप्तीमा उल्लेख छ ।

साथै पत्रकार भेटघाटमा सहभागि सहयोगी दाता थानेश्वर भट्टराईले पर्ख र हेरको समय सकिएको भन्दै हिसाब किताव सार्वजानिक नभएपछि बाध्य भएर सम्बन्धित निकायमा निवेदन दिईएको बताउनुभयो । उक्त महायज्ञका कारण पछिल्ला महायज्ञहरुमा मानिसहरुको विश्वास नै हटेको उहांले बताउनुभयो ।

तत्कालिन अवस्थामा महायज्ञबाट रामनदी धामको विकासको लागी गुरुयाजना तयार गरी व्यवस्थित मसानघाट, नुवाउने घाट, आर्युवेदिक औषधालय, विज्ञान अध्ययनका लागी पुस्तकालय, पुष्पबाटिका, गौशाला, दिनदुखी र साधु सन्तहरुको अन्न क्षेत्र निर्माण गरिने उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको थियो ।

लामो समय आयव्याय सार्वजानिक नहुँदा र कुनै भौतिक संरचना समेत निर्माण नहुँदा वडा नं. १ लाई समेत पाल्पा र स्याङ्जाका सहयोगीदाताहरुले आवश्यक कारबाहीको माग गर्दै २०७६ चैत्रमा निवेदन पेश गरेका थिए । त्यस्तै आवश्यक छानविनको माग गरी कारबाहीका लागी गल्याङ नगरसमितिको न्यायिक समितिमा समेत द्धोय अधिकारी र भण्डारीले निवेदन पेश गर्नु भएकोमा कुनै सुनुवाई नभएपछि आज पत्रकार मार्फत जानकारी गराईएको हो निबेदक अधिकारीले भन्नुभयो, ‘यो समयमा कोभिड १९ ले स्याङ्जाका एक व्यक्तिको निधन भईसकेको अवस्थामा शव व्यवस्थापनको समस्याहरु उठिरहेका बेला आधुनिक मसानघाट बनाईएको भए कोभिड शव व्यवस्थापनमा सहज हुन्थ्यो ।’

‘हामी सामाजिक कार्यमा समेत अग्रसर रहेको बेला समाजमा भएका यस्ता ठगी धन्दाहरुलाई उजागर गर्नुपर्छ भन्ने हेतूले अगाडि बढेका हौँ ।’ उहाँले भन्नुभयो । महायज्ञमा संकलित रकम ठगि भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा समेत जाहेरी दरखास्त दिईएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । भौतिक निर्माणमा एउटा इटा समेत नउठाईएको भन्दै आम मानिसले यसको हिसाब स्पष्ट रुपमा चाहेको उहाँहरुको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button