तपाईँ सुन्दै हुनुहुन्छः

देश र जनताप्रति बेइमानी गरेको पाइए कडाभन्दा कडा कारबाही हुन्छ  : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्चका विषयमा सन्देह फैलाउने, सबैलाई भ्रष्ट देखाउने र जसरी पनि चरित्र हत्या गर्नेजस्ता विषय जायज नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाबाट सन्देशसहित राष्ट्रिय सभामा प्रस्तुत विनियोजन विधेयक–२०७७ अन्तर्गतको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सङ्कटका समयमा देश र जनताप्रति बेइमानी गरेको पाइए कडाभन्दा कडा कारबाही गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारका खर्चको विवरण र हिसाब महालेखापरीक्षक लगायत अन्य विभिन्न निकायले राखिरहेको सन्देह फैलाउने र आलोचना मात्र गर्ने कार्य स्वीकार्य नभएको स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकार हरेकको समस्या बुझेकाले नेपालमा केही भोकै हुनुपर्दैन र कोही भोकले मर्दैन भन्ने नाराका साथ अघि बढेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले रुकुम घटना दुखद भएको र त्यस घटनामा संलग्न भएकाहरूलाई गिरफ्तार गर्नेदेखि छानबिन समिति बनाएर छानबिन गरेको र क्वारेन्टीनमा भएको आपराधिक गतिविधिमा संलग्नलाई गिरफ्तार गरेर कारबाही अघि बढाइएको दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार जनताको जीउ धनको सुरक्षा, सम्मानको रक्षा गर्न सजग रहेको स्पष्ट पार्नुभयो ।

सांसदहरूको जवाफमा प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण बढिरहेकोले स्वाब परीक्षण मेसिन थप गर्ने र क्वारेन्टीनको उचित प्रबन्ध गर्न आवश्यक रहेको बताउनुहुँदै कोरोना सङ्क्रमण रोकथामका लागि आवश्यक बजेट विनियोजन गरेर नियन्त्रण गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले कोरोना सङ्क्रमणको सङ्कटका समयमा आतङ्ंिकत र त्रसित बनाउने नभई सचेत र उच्च मनोबल बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सांसदबाट भएको सर्वसम्मतिबाट भएको संविधान संशोधन संसद्को इतिहासको गौरवको विषय भएको बताउनुभयो ।

उहाँले क्वारेन्टीनमा देखिएको चापका कारण स्वास्थ्य लगायतका प्रबन्ध गर्न केही कमजोरी भए पनि सरकारको तयारीका कारण सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले गम्भीर समस्याका रूपमा देखिएको कोरोना सङ्क्रमणको परीक्षणलाई दैनिक भइरहेको चार हजारदेखि चार हजार पाँच सयको क्षमताको कोरोना परीक्षणलाई बढाउँदै लगिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button