तुलसीपुरमा जोर बिजोरको नियम उल्लङ्घन गरेको भन्दै ६२ सवारी साधन प्रहरीको नियन्त्रणमा
तुलसीपुर । जोर बिजोरको नियम उल्लङ्घन गरेको भन्दै ६२ वटा निजी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा भित्रिने बाहिरिने क्षेत्रमा बिहानैदेखि प्रहरी परिचालन गरेर बिजोर नम्बर प्लेट भएका सवारी साधनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुर क्षेत्रका विभिन्न स्थानबाट ४४ वटा मोटरसाइकल, ८ वटा स्कुटर र १० वटा अटोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो ।
‘हामीलाई माथिबाट कडा आदेश आएको छ । कोरोना जस्तो महामारीबाट पनि बच्नु छ,’ प्रहरी नायव उपरीक्षक सिंहले भन्नुभयो –‘दैनिक जीवनयापन पनि चलाउनु छ । बढी चहलपहल र भिडभाडलाई पनि रोक्नु छ । त्यसैले कार्यान्वयन गर्न लागि परेका छौ ।’
आज नियन्त्रणमा लिएका बिजोर निजी सवारी साधनलाई साँझ पाँच बजे छोडिने प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।
प्रहरीले जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधनलाई मात्र चल्ने दिने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्