तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरेको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा प्राप्त “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभामा उपस्थित ५७ जना सांसदहरुले प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उपस्थित ५७ जना सांसदहरुले प्रस्तावको पक्षमा मतदान गर्नुभएको जानकारी गराउँदै संविधान संशोधन सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो ।

यसअघि, विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संशोधित विधेयकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई अक्षुण राख्दै नेपाली जनताको स्वाभिमान र स्वायत्ततालाई थप उचाइमा पुर्‍याउने बताउनुभयो ।

उहाँले कूटनीतिक वार्तामा नेपाल सरकारले आफ्ना तर्फबाट कुनै पनि प्रमाण नछुटाउने विश्वास दिलाउँदै राष्ट्रिय हित र अखण्डताका सवालमा देखिएको एकताप्रति खुसी व्यक्त गर्नुभयो ।

उहाँले छुटेको भूभागसहितको नेपालको नक्सालाई नेपालको संविधानमा नेपालको निशान छापभित्र अङ्कित गर्ने आजको दिन गौरवपूर्ण दिन हुने बताउनुभयो ।

बैठकको सुरुमा छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्माले नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिकताका सवालमा देखिएको राष्ट्रिय एकता निरन्तर रहिरहने बताउनुभयो ।

उहाँले नेपालको नक्सामा छुटेको भूभाग समेट्न गरिएको संविधान संशोधन अत्यन्तै गौरवको विषय भएको बताउनुभयो ।

नेता शर्माले राष्ट्रिय हितका विषयमा सत्ता पक्ष र विपक्षी दल एकठाँउमा उभिएको प्रति खुसी व्यक्त गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका तर्फबाट सांसद राधेश्याम अधिकारीले नेपालको स्वामित्वमा रहेको भूभाग कालापानीमा भारतले अस्थायी रूपमा राख्दै आएको सुरक्षा पोष्ट कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताउनुभयो ।

उहाँले नेपाली भूभाग समेटेर नेपालको नक्सामा राख्ने काम भइसकेपछि नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउनु अबको मूल लक्ष्य रहेको बताउनुभयो ।

सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा मुलुक एक ढिक्का भएको प्रति खुसी व्यक्त गर्नुहुँदै कब्जा गरिएको नेपाली भूमि हर हालतमा फिर्ता गर्ने राष्ट्रिय सङ्कल्प पूरा गर्न एकताबद्ध भइरहन आग्रह गर्नुभयो ।

उहाँले सुँघौली सन्धिपछि नेपालको सिमाना हेरफेर गर्ने गरी कुनै पनि सन्धि सम्झौता नभएको भन्दै नेपालको भूमि कालापानीबाट भारतीय सेना तत्काल फिर्ता हुनुपर्ने बताउनुभयो ।

छलफलमा सांसदहरुले नेपालको छुटेको भूभाग समेटेर जारी गरिएको राजनीतिक तथा प्रशासनिक नक्सालाई संविधानको अनुसूचीमा समेट्नु स्वाभाविक भएको भन्दै राष्ट्रिय हित र राष्ट्रिय एकताका सवालमा एक ढिक्का भएर प्रस्तुत हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button