तपाईँ सुन्दै हुनुहुन्छः

सोती घटनाका २१ अभियुक्तको सकियो बयान

रुकुमपश्चिम । चौरजहारी नगरपालिका, सोती घटनामा अभियोग लागेका प्रतिवादीको बयान रुकुम अदालतमा जारी छ । सोमबारदेखि शुरु भएको बयानअन्तर्गत आज थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको छ ।

यससँगै आजसम्म २१ जनाको बयान सकिएको छ । पक्राउ परेकामध्ये अब आठ प्रतिवादीको मात्र बयान बाँकी रहेको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । सोमबार दुई नाबालक र मङ्गलबार नौ जनाको बयान सकिएको थियो ।

प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ । ‘पक्राउ परेका प्रतिवादीहरुको बयान भोलि(बिहीबार)सम्ममा सकिने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘बयान सकिएलगत्तै थुनछेक बहस शुरु हुने छ, समय भए भोलिबाटै पनि थुनछेक बहस शुरु हुन सक्छ ।’

उहाँका अनुसार बिहीबार बयान सकिन समय लागे शुुक्रबारदेखि थुनछेक बहस शुरु हुने छ । गत जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोप लगाउँदै जिल्ला सरकारी वकिल कार्यालयले रुकुम अदालतमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने पाँच जना फरार छन् ।

चौँतीस जनामध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा दर्ता गरिएको छ भने एक जनाविरुद्ध मतियारको मुद्दा लगाइएको छ ।

यसैबीच सोमबार बयान र थुनछेक बहस सकिएका दुई नाबालकलाई भने मुद्दा पुर्पक्षका लागि बालसुधारगृहमा पठाउन अदालतले आदेश दिइसकेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button