तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकभर फोरजीको सेवा पुग्ने गरी काम भइरहेको छः अर्थमन्त्री खतिवडा    

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिनुभएको छ ।

विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा फोरजी सेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताउनुभयो ।

रेडियो नेपाल र टेलिभिजनलाई स्वायत्त र सक्षम सार्वजनिक सञ्चार माध्यमको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण अन्तर्गत सञ्चालनका लागि आवश्यक कानूनी व्यवस्था अघि बढाइ सकिएको उहाँले जानकारी दिनुभयो ।

कोरोनाको बीमा र पत्रकार दुर्घटना बीमालगायत धेरै कुरामा बजेटले सञ्चार क्षेत्रलाई समेटिएको उहाँले बताउनुभयो ।

विज्ञापन अब छापाको माध्यमबाट मात्र होइन, अन्य माध्यमबाट पनि दिन सकिन्छ भन्ने व्यवस्था गरिएको बताउँदै अर्थमन्त्री खतिवडाले विज्ञापन बोर्ड गठन भइसकेपछि विधिसम्मत् ढङ्गले लोककल्याणकारी विज्ञापन उपलब्ध हुनेछ भन्नुभयो ।

यसअघि विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत रकम वितरण भन्दा पनि विकासमा सङ्घीय सांसदको सहभागिता रहोस् भनेर बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button