तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षण बिहिन बालबालिका खोज्दै सिद्धिचरण नगरपालिका

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले नगरक्षेत्रका संरक्षण बिहिन बालबालिकाको तथ्यांक संकलन सुरु गरेको छ । बन्दाबन्दीको प्रत्यक्ष मारमा परेका तथा पारिवारीक संरक्षण गुमाएका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उनिहरुको तथ्याक संकलन गर्न थालेको हो ।

नगरपालिकाका १२ वटै वडालाई तीन दिन भित्र संरक्षण बिहिन तथा अभिभावक गुमाएका बालबालिकाको तथ्यांक संकलन गरी पेस गर्न पत्रचार गरिएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छाकुमारी गुरुङले बताउनुभयो । वडाबाट प्रभाबित बालबालिकाको तथ्यांक संकलन भएर आएपछि उनीहरुलाई कपडा र खाद्यान्नका सामाग्री राहत स्वरुप नगरपालिकाले वितरण गर्ने उहाँको भनाई छ ।

‘साहारा विहिन बालबालिका खोजिरहेका छौं । सबैको विवरण लिएर कपडा र खाद्य समाग्री सहयोग गछौं ।’ उपप्रमुख गुरुङले भन्नुभयो, ‘विपन्न परिवार र मजदुरलाई राहत वितरण गरिसकेका छौं । अब बालबालिका, महिला र जेष्ठ नागरिकलाई समेट्ने लक्ष्य छ ।’ नगर क्षेत्रका त्यस्ता बालबालिकाले राहात स्वरुप प्रति व्यक्ति एक जोर कपडा, चप्पल तथा अन्य खाद्य सामाग्री पाउने छन् ।

नगरपालिकाले यसअघि बन्दाबन्दीको मारमा परेका संरक्षणबिहिन जेष्ठ नागरिक ,सुत्केरी तथा गर्भवती महिलाहरुको तथ्यांक संकलन गरिसकेको छ ।

जेष्ठ नगरिकहरुलाई खाद्यान्नका सामाग्री तथा सुत्केरी र गर्भवती महिलालाई गैरसरकारी संस्थाहरुको सहयोगमा सुरक्षाका समाग्री तथा पौष्टीक आहारा वितरण गर्ने नगरपालिकाको तयारी छ ।

हालसम्म नगरक्षेत्रबाट ३० जना भन्दा बढी ४५ दिन भित्रका सुत्केरी महिला र ९० जना भन्दा बढी गर्भवती महिलाहरुको तथ्यांक संकलन गरिएको सिद्धिचरण नगरपालिका ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button