तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना रिर्पोट नेगेटिभ आएपछि क्वारेनटाइनमा नाँचगान

सल्यान । कोरोना भाइरस (कोभिड– १९) को रिर्पोट नेगेटिभ आएपछि क्वारेनटाइनमा बसेका नागरिकहरूले नाचगान गरेका छन् । आफूलाई कोरोना सङ्क्रमण नभएको भन्दै खुसीयालीमा उनीहरूले नाचगान गरेका हुन ।

जिल्लाको कुमाख गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालय झारकाँडाको क्वारेनटाइनमा बसी रहेका २६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनीहरूले नाचगान गरेका हुन ।

विश्व नै आक्रान्त बनाउने रोगबाट आफूहरू बचेको भन्दै नाचगान गरेको खड्काबहादुर बुढाथोकीको भनाई छ । उहाँले भन्नुभयो, कोरोना लागेपछि मरिहालिन्छ भन्ने प्रचार छ त्यस्तो अवस्थामा कोरोना रिर्पोट नेगेटिभ आउँदा निकै खुसी लागेको छ ।

स्वाब सङ्कलन भएको झन्डै दुई हप्तापछि नेगेटिभ रिर्पोट आउँदा निकै खुसी लागेको काँशीराज बुढाथोकीले बताउनुभयो । घरपरिवार, समाज नै डराई रहेको समयमा आफूलगायत २६ जनाको रिर्पोट नेगेटिभ आउँदा खुसी भई नाचगान गरेको उहाँले बताउनुभयो ।

मङ्गलवार मात्र कुमाख गाउँपालिकाका–१ सय ५४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको थियो भने एक जनामा पोजेटिभ देखिएको थियो ।

पिसिआर रिर्पोट नेगेटिभ आएका सबैलाई एक हप्ता होम क्वारेनटाइनमा बस्न आग्रह गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश भण्डारीले बताउनुभयो ।

कुमाख गाउँपालिकामा मात्र १८ वटा क्वारेनटाइनमा पाँच सय १५ जना बसिरहेका छन् ।

स्वाब सङ्कलन गरेको लामो समय बितिसक्दा पनि रिर्पोट नआउँदा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button