तपाईँ सुन्दै हुनुहुन्छः

हत्या आरोपमा चार पक्राउ

चिप्लेढुंगा । आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख दानबहादुर कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै साथीबाटै उनको हत्या भएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा सुनम गुरुङ, शंकर सुनार, मनीष श्रेष्ठ र कृष्ण सुनार छन् ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार गत जेठ ३१ गते पोखरा –२९ पट्नेरीका युवाले नयाँ बाइक किनेको खुशीयालीमा खानपिनमा रमाउँदै गर्दा मदिराले लट्ठ परेका रसाइलीमाथि साथीहरुले नै हेल्मेट र ढुङ्गा प्रहार गरेपछि मृत्यु भएको थियो ।

त्यसपछि शव लुकाउने क्रममा उनलाई तिनले नजीकै सेती नदीमा बगाइदिएका थिए । जेठ ३२ गते बिहान साढे ३ बजे प्रहरी कन्ट्रोल रुममा तीनै साथीमध्येका एकले रसाइली हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

कास्की प्रहरीको टोलीले खोजतलास गर्नेक्रममा आइतबार बिहान ७ बजे पोखरा –३२ रातोपैरास्थित सेती खोंचमा शव फेला पारेको थियो । अभियुक्तलाई म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइने प्रउ कार्कीले जानकारी दिनुभयो ।

लकडाउन अवधिमै आफ्नै साथीबाट हत्या भएको यो घटना पोखरामा तेस्रो हो । यसअघि पोखरा –१४ र २७ मा व्यक्तिगत रिसइबी र विवादकै कारण यस्तै प्रकृतिको घटना भएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button