तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा ट्रक चालकको मृत्यु, १४ जना घाइते

तनहुँ । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

तनहुँको ऐना पहरामा ट्रक दुर्घटना भएको छ । वीरगन्जबाट आँवुखैरेनीतर्फ आउँदै गरेको ना ६ ख ६६५ नम्बरको ट्रक आँबुखैरेनी–४ स्थित ऐना पहरामा दुर्घटना भएको हो ।

वीरगन्जबाट आँबुखैरेनीस्थित अरनिको इड्रिष्टिज प्रालिका लागि सिमेन्टको कच्चा पदार्थ ल्याउँदै गर्दा सो ट्रक सडकदेखि करिब २५ फिट तल खसेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परि त्रिवेणी गाउँपालिका–७ सल्यान घर भएका करिब ३२ वर्षीय ट्रक चालक विष्णु परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीले जनाएको छ ।

उक्त दुर्घटनामा परी सहचालक दाङका २० वर्षीय सूर्यबहादुर बुढाथोकी घाइते भएका र उनको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा सामान्य उपचार थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

ट्रक सडकदेखि तल खोँचमा खसेकोले उनीहरूको उद्धार गर्न नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले लामो प्रयासपछि उद्धार गर्न सफल भएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीले जनाएको छ ।

त्यस्तै, तनहुँको व्यास–५ अलैचेमा ट्र्याकटर दुर्घटना भएको छ । सोमबार व्यास–५ चाप घाट, दमौलीबाट मानुङकोट जाँदै गरेको ट्र्याकटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त दुर्घटनामा परी ट्र्याकटर चालकसहित १३ घाइते भएका छन् ।

घाइते मध्ये तीन जना घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी नवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘घाइतेको अवस्था गम्भीर भएकाले थप उपचारका लागि पोखरा पठाइएको छ ।’ पोखरास्थित मेट्रो सिटी अस्पतालमा तीन जना गम्भीर घाइतेको उपचार हुँदै छ ।

अन्य १० जना घाइतेको दमौलीस्थित दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नयाँ ट्र्याकटर (अन टेष्ट)का रूपमा रहेकाले नम्बर नभएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button