तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज दिउँसो पर्साका थप १० जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिकाको क्वारेनटाइनमा रहेका नौ जना र पटेर्वासुगौली गाउँपालिकाको एक जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताउनुभयो ।

विन्दवासिनी गाउँपालिकाको क्वारेनटाइनमा रहेका नौ जना मध्ये तीन जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी रहेका छन् ।

भारतबाट फर्किएकाहरूलाई राख्न गाउँपालिकाले झौवागुठीमा निर्माण गरेको क्वारेनटाइनमा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगी सङ्क्रमित भएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।

गत जेठ २६ मा उनीहरूको स्वाब सङ्कलन गरिएको थियो ।

सङ्क्रमितहरूको अवस्था सामान्य रहे पनि उनीहरूलाई आजै नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button