तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको  बैठक : विभिन्न चार विधेयक पारित

फाइल तस्बिर

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न विषयमा चार वटा विधेयक बहुमतले पारित गरेको छ ।

अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७, “ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७ लाई बैठकले पारित गरेको हो ।

यस्तै बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले प्रस्तुत गर्नु भएको “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ लाई समेत पारित गरेको छ ।

विधेयकहरूमाथि परेका संशोधन प्रस्तावहरू बैठकको बहुमतले अविकृत गरेको छ ।

यसअघि विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री खतिवडाले कोरोना सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न र आर्थिक अवस्थाको सुधार गर्न सबै एकजुट भएर जानु पर्ने बताउनुभयो ।

उहाँले लकडाउनका कारण अहिले राज्य आर्थिक रूपमा अप्ठ्यारो अवस्थामा रहेको भए पनि अब व्यावसायिक वातावरण खुला भएकोले आन्तरिक व्यापार र भन्सार आयातमा पुरानै अवस्थामा फर्किने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा. खतिवडाले सरकार नेपाल एयरलाइन्सको नयाँ जहाज किन्नको लागि मात्रै जमानत बसेको बताउँदै अन्य कतै पनि जमानत नबसेको स्पष्ट समेत बताउनुभयो ।

केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकमाथि उठेको विषयमा जवाफ दिनुहुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.तुम्बाहाङफेले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश र राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेशमा नयाँ व्यवस्था नगरी साबिककै व्यवस्थाहरू नै जगाउने गरी यो विधेयक ल्याइएको बताउनुभयो ।

यसअघि, बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला (खरेल)ले “अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७७” पेस गर्नुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक असार ४ गते बिहीबार दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button