तपाईँ सुन्दै हुनुहुन्छः

विजयपुर खोलामा मोटरेवल पुल   

पोखरा ।  पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ जोड्ने विजयपुर खोलामाथिको मोटरेवल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । काउँखोला, सिक्लेस, दूधपोखरी सडकखण्डमा पर्ने सो पुल सङ्घीय सरकारको रु पाँच करोड ६५ लाख लागतमा निर्माण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विसं २०७५ मङ्सिरमा शिलान्यास गर्नुभएको सो पुल निर्माणको ठेक्का रायमाझी द क्याराभान जेभी काठमाडौँ ठेकेदार कम्पनीले पारेको थियो ।
डबल स्पान प्रविधिबाट निर्मित ५७ मिटर लम्बाइ र ११ मिटर चौडाइको सो पुलको दायाँबायाँ रेलिङ राख्ने र पैदलमार्गको काम मात्र बाँकी छ । असार मसान्तसम्ममा सम्पूर्ण काम सम्पन्न हुने ठेकेदार कम्पनीका इञ्जीनियर विजय थकालीले जानकारी दिनुभयो ।

पुलको पूर्वउत्तरको भागमा रु दुई करोड लागतमा लगभग ४०० मिटर लम्बाइमा ग्याभिन तारजाली भर्ने काम भइरहेको छ । तारजालीबाट मोटरेवल पुलसँगै स्थानीय फाँटको समेत संरक्षण हुने प्रदेशसभा सदस्य मनबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार काउखोलाबाट पर्यटकीय गाउँ सिक्लेस हुँदै हिमालपारिको जिल्ला मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत नवनिर्मित पुलदेखि १० किलोमिटर बाटो निर्माण भइरहेको छ ।

प्रदेश सरकारको रु २२ करोड ५० लाख लागतमा निर्माण भइरहेको सो बाटोको स्तरोन्नति गरी कालोपत्र गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । बाँकी झण्डै ७० किलोमिटर सो सडक क्रमागतरूपमा निर्माण गरिने कार्यक्रम रहेको उहाँको भनाइ छ । पक्की पुल निर्माणसँगै बाह्रै महिना यातायातको सुविधा पुग्ने बताउँदै प्रदेशसभा सदस्य गुरुङले बाटोको स्तरोन्नतिसँगै मादी गाउँपालिकाका स्थानीय बासिन्दाको आयआर्जनसमेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button