तपाईँ सुन्दै हुनुहुन्छः

संविधान संशोधन विधेयकमाथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयक माथिको दफावार छलफल जारी रहेको छ ।

संविधान संशोधन माथिको दफावार छलफलमा भाग लिनु हुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले संविधान संशोधनबाट राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फर्काउने महत्त्वपूर्ण ठाउँमा आइपुगेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय समझदारी र सहमतिबाट राष्ट्रलाई गति दिने परम्परा विकास हुँदै आएको भन्दै नेपालको भूमि फिर्ता गर्ने सन्दर्भमा संविधान संशोधन जस्तो संवेदनशील विषयलाई सर्वसम्मतिले पारित गरेर राष्ट्रिय र ऐतिहासिक मुद्दामा नेपालीहरू सधैँ एक ठाउँमा हुन्छौ भन्ने सन्देश फेरी एक पटक विश्वलाई दिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संवेदनशील राष्ट्रिय महत्त्वको विषयलाई राष्ट्रिय समझदारी गरेर संविधान संशोधन मार्फत निशान छापमा रहेको नेपालको नक्सा सच्याउन गरेको पहलका लागि नेपाल सरकारलाई धन्यवाद समेत दिनुभयो ।

अध्यक्ष प्रचण्डले गुमेको भूमि फिर्ता लिने, दाबी गर्ने र भारतसँग राजनीतिक र कूटनीतिक रूपमा छलफल गरेर विवाद सधैँका लागि समाधान गर्ने लक्ष्यका साथ अगाडी बढेको पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भारतले विवादित भूमिमा सडक निर्माण गरेर उद्घाटन समेत गरेपछि नेपालीहरूलाई एकताबद्ध हुन र गुमेको भूमि फिर्ता लिन नकारात्मक रूपमा नै भए पनि चुनौती दिएपछि सबै नेपाली एक भएर समस्या समाधान गर्न थप बल पुगेको बताउनुभयो ।

उहाँले भारतसँग नेपालले मित्रता र असल छिमेकीको भूमिका निर्वाह गर्न चाहेको र नेपाललाई समृद्धिको बाटोमा लान चाहेको भन्दै यो संविधान संशोधनपछि भारतसँगको दुरी बढाउने नभई समस्यालाई तथ्य प्रमाणसहित समस्याको समाधान गर्न चाहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दामा एकताको निम्ति सबै एक हुने गरेको भन्दै कोरोना विरुद्धको लडाइँमा समेत सबैलाई एक भएर लाग्न आग्रह समेत गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संशोधन प्रस्ताव राष्ट्रियताको महत्त्वपूर्ण विषय भएकोले प्रतिपक्षी दलले यसलाई पूर्ण रूपमा समर्थन गरेको बताउनुभयो ।

सभापति देउवाले काली नदिको पूर्वी भाग नेपालको हो भन्ने विभिन्न प्रमाणहरूबाट प्रस्ट भएको बताउँदै नक्सा परिवर्तनका लागि देखिएको नेपालीहरूको राष्ट्रिय एकता नेपालको हितमा भएकाले सबै पाटीहरूको समर्थन देखिएको बताउनुभयो ।

उहाँले यसलाई नेपालीहरू राष्ट्रिय हित सार्वभौमसत्ता, राष्ट्रको अखण्डताका लागि सबै नेपाली एक छन् भन्ने सन्देश विश्वलाई नै यसले सकारात्मक सन्देश दिएको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले संविधान प्रति असन्तुष्टिको बाबजुद पनि नेपालको नक्सा परिवर्तन गर्नका लागि आएको संविधान संशोधनमा पूर्ण समर्थन रहेको बताउनुभयो ।

हिमाल पहाड तराईका सम्पूर्ण नेपाली जनता आफ्नो देश प्रति एक छ भन्ने सन्देश यस बैठकले देखाउनु पर्ने भन्दै नेता महतोले लिम्पियाधुरा, लिपुलेक कादलापनि नेपालको हो भन्ने नक्सामा देखाउन संविधान संशोधनमा समर्थन गरेको स्पष्ट पार्नुभयो ।

मधेसी जनता राष्ट्रिय एकताका लागि सधैँ लागि रहने राष्ट्रियताको सवालमा सधैँ एक हुने भन्दै मधेसी जनता र संविधान प्रति असन्तुष्ट सबै पक्षको माग समेत सम्बोधन गरेर सबैले अपनत्व ग्रहण गर्न सक्ने गरी अगाडी बढ्नु पर्ने बताउनुभयो ।

यस्तै संविधान संशोधन विधेयकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले राखेको संशोधन प्रस्ताव अस्वीकृत भएको छ ।
बैठक सभामुख अग्निप्रसाद सापकोटाले नियमअनुसार संशोधन सम्बन्धी सर्त पुरा नभएकाले संविधान संशोधन विधेयकमामाथि परेको संशोधन प्रस्ताव अस्वीकृत गरिएको जानकारी गराउनुभयो ।

विधेयक माथिको दफावार छलफल जारी रहेको छ । संविधान दोस्रो संशोधन विधेयक आजै पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button