तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा एक बालक र बेवारिसे शवमा कोरोना सङ्क्रमण पुष्टि, नेपाली सेनाद्वारा शव व्यवस्थापन

वीरगन्ज । वीरगन्जमा उपचारको क्रममा मृत्यु भएका निजगढका एक बालक र बेवारिसे अवस्थामा भेटिएको युवकको शवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उपचारको क्रममा शुक्रवार साँझ वीरगन्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका ५ वर्षीय बालक र वीरगन्जको घण्टाघरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको बेवारिसे शवको पिसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

यसअघि नेपालमा कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएकोमा अब थप दुई जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

वीरगन्जमा कोरोना सङ्क्रमणबाट पछिल्लो एक बालकसहित दुई जनाको मृत्युको बारेमा स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराउन बाँकी रहेको छ ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोल निवासी ५ वर्षीय बालकलाई शुक्रवार बिहान ११ बजे वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो । ‘बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परीक्षण गरिएको थियो ।

आरडिटी परीक्षणको क्रममा पोजेटिभ रिपोर्ट आएपछि उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर नारायणी अस्पतालका चिकित्सकहरूको निगरानीमा उपचार गरिएकोमा उपचारकै क्रममा उनको शुक्रवार साँझ मृत्यु भएको वीरगन्ज हेल्थ केयर अस्पतालका सञ्चालक डा.अबुल हैस अन्सारीले जानकारी दिनुभयो ।

आरडीटी परीक्षणको क्रममा पोजेटिभ रिपोर्ट आएपछि बालकको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणको रिपोर्ट आज आएको र मृतक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

बालकको मृत्यु भएसँगै बालकका बाबु आमासहितका परिवार तथा बालकको उपचारमा संलग्न सामुदायिक अस्पताल निजगढ र वीरगन्ज हेल्थ केयर अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सकहरूको समेत पिसीआर परिक्षणकालागी स्वाब सङ्कलन गरिने मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।

बालकको शव बाराबाट आएको नेपाली सेनाको टोलीलाई व्यवस्थापनका लागि जिम्मा लगाइएको वीरगन्ज हेल्थ केयर अस्पतालका सञ्चालक डा.अबुल हैस अन्सारीले बताउनुभयो ।

यसअघि आज बिहान कोरोना सङ्क्रमण पुष्टि भएका अन्दाजी २५ वर्षीय युवकको अझै पहिचान नखुलेको र उनको शव तीन दिन अगाडी वीरगन्जको घण्टाघर चोकमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

बेवारिसे शवलाई प्रहरीले नारायणी अस्पताल लगेको र अस्पतालले मृतको स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

बेवारिसे शवमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालमा रहेको शवको व्यवस्थापन नेपाली सेनाले गरेको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताउनुभयो ।

बेवारिसे शवमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेनटिनमा राखिएको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button