तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको ऐतिहासिक एंव पर्यटकीय स्थल ‘उपरदाङगढी’ लकडाउनका कारण सुनसान (फोटो फिचर)

चितवन । चितवनको पुरानो सदरमुकाम तथा ऐतिहासिक एवं पर्यटकीय स्थल ‘उपरदाङगढी’ लकडाउनका कारण सुनसान बनेको छ ।

उपरदाङगढीको अवलोकन गर्न दैनिक रूपमा दुई सयभन्दा बढी आन्तरिक पर्यटक जाने गरे पनि लकडाउनका कारण भने पर्यटकको सङ्ख्या घटेको छ ।

हाल दैनिक पाँच सात जना मात्र आउने गरेको स्थानीय होमस्टे सञ्चालक गणेश गुरुङले बताउनुभयो । यहाँ पाहुनाहरू घुम्न आउने र होमस्टेमा बस्ने गर्नु हुन्थ्यो, लकडाउन सुरु भएपछि त कोही पनि बस्ने गरी आउनु भएको छैैैन, उहाँले बताउनुभयो ।

जिल्ला सदरमुकाम भरतपुरबाट पदमपुर(क्लब चोक) शक्ति खोर हुँदै ३५ किमी र पूर्व पश्चिम राजमार्गको टाडी बजारबाट पनि शक्ति खोर हुँदै ३२ किलो मिटरको यात्रापछि पुग्न सकिने सो गढी मोटर बाइकमा सजिलै जान सकिन्छ ।

शक्ति खोरसम्म पिच बाटो रहेको छ भने शक्ति खोरबाट १२ किमी कच्ची पहाडी बाटो भएर जानुपर्ने हुन्छ । बाइक अथवा फोरव्हिलर गाडी लिएर पनि सो बाटोमा यात्रा गर्न सकिन्छ । शक्ति खोरबाट हिँडेर पनि करिब तीन घण्टामा उपरदाङगढी पुग्न सकिन्छ ।

उपरदाङगढीको यस्तो छ इतिहास
उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । सन् १९६० को दशकको सुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको थियो । विक्रम संवत् २०१६ सालसम्म महत्त्वपूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेका थिए ।

ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने हाल इच्छा कामना गाउँपालिका (७) दाहाखानी गाविस(३)मा पर्दछ । समुद्री सतहदेखि १२७५ मिटर उचाइमा पर्ने यो किल्ला तत्कालीन बाइसे (चौबिसे राज्य एकीकरणका बेला अङ्ग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएका थिए । गढी सन् १८०० मा निर्माण भएको र सन् १९६० सम्म चितवनको सदरमुकाम रहेको पुरातत्त्व विभागले जनाएको छ ।\

तीन फुट चौडाइ तथा छ फुट उचाइ भएको प्रवेशद्वार रहेको गढीभित्र कोत घर, कालिका र सिद्ध बाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् । ढुङ्गा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाई तीन फिट रहेको छ । गढीमा नौ वटा सेन्ट्रीपोष्ट छन् । लगभग ३ फिट बाक्लो पर्खालको चारै दिशातर्फ तोप पड्काउने उद्देश्यले ९ वटा खुल्ला झ्यालहरू बनाइएको छ ।

किल्लाको दक्षिणी भागमा भगवान् शिव र कालिकाको मन्दिरको भग्नावशेष मात्र बाँकी छ भने गणेशको मन्दिर प्रवेशद्वारमा छ । बज्रयोगिनी र बालकुमारी देवीको मन्दिर भने किल्लाभित्र छ ।

चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला डुङ्गाको ठुला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ भने बिच भागमा इनार र हतियार भण्डार गर्ने कोत घर छ । गढीको सुरक्षाका लागि भनेर तार बार लगाउनुका साथै कोत घरको निर्माण गरिएको छ ।

बाह्रै महिना जाडो हुने यो ठाउँ वातावरणीय हिसाबले पनि रमणीय छ । आकाश सफा भएका बेला मनास्लु, गणेश हिमाल लगायतका हिमालहरू उपरदाङगढीबाट देख्न सकिन्छ । पहाडमा रमाउने जुरेली, रानी चरी, कुथ्रुके, तोरी गाडे, चाँचर, हुचिल, न्याउली, भ्याकुर जस्ता अनेक प्रजातिका चराहरू यहाँ पाइन्छन् । उपरदाङगढी र नजिकै रहेको चिसापानी टार चरा अवलोकनका लागि राम्रो स्थान भएकाले पर्यटकको सङ्ख्या अझ बढ्न सक्ने देखिन्छ ।

अग्लो चुचुरोमा रहेको गढीबाट नारायणगढ, भरतपुर र चितवन जिल्ला छर्लङ्ग देखिने भएकाले यो गढी रणनीतिक हिसाबले पनि महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् ।

यो रमणीय स्थान चेपाङ, मगर र गुरुङहरूको पातलो बस्तीले घेरिएको छ । आर्थिकरुपले विपन्न तर सोझा र परिश्रमी यी जातजातिहरूको आफ्नै मौलिक परम्परा, संस्कृति र रीतिरिवाज छन् । गढी क्षेत्रमा पुग्ने पर्यटकका लागि खान, बस्न होमस्टेको सुविधा छ जहाँ यी तीनै जातिहरूको कला संस्कृति एकै ठाउँ अवलोकन गर्न पाइन्छ । हाल कटेज रेस्टुरेन्ट पनि खुलेको छ ।

पर्यटकहरूको लागि पैदल मार्ग (ट्रेकिङ रुट) बनाइएको छ । पर्यटकहरू प्रायः हुग्दी हुँदै हात्तिवाङ, सिराइचुली, ज्यानदाता , गढी, शक्ति खोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज पुग्छन् । पर्यटक र पथ प्रदर्शकका लागि सम्बन्धित ठाउँहरूमा होमस्टेको व्यवस्था भए पनि उपरदाङगढीसम्म पुग्ने राम्रो बाटो नबन्दा यस अघि समस्या भएको थियो । अहिले शक्ति खोर देखि उपरदाङगढी हुँदै फिस्लिङ सम्म मोटर बाटो बनिरहेको छ । सो बाटो २ वर्ष भित्र कालोपत्रे समेत हुँदै छ । सो बाटो बनेपछि भने उपरदाङगढी जाने पर्यटकमा अत्यधिक वृद्धि हुने देखिन्छ ।

आर्थिक, सामाजिक रूपमा पिछडिएका चेपाङ, उपरदाङगढी गुरुङ, मगर, तामाङ लगायतका जनजातिको बाक्लो बस्ती रहेको शक्ति खोर, दाहाखानी, काउले क्षेत्रका बासिन्दाको आयआर्जन सुधार गर्न नेपाल सरकारले ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम सञ्चालन गर्दा यस क्षेत्रमा होमस्टे सञ्चालन गर्न सुरु गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button