तपाईँ सुन्दै हुनुहुन्छः

कोल्टीको खाद्य डिपोमा सकियो चामल

बाजुरा । बाजुराको कोल्टीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडकोे डिपोमा चामल अभाव भएको छ ।

जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेको छैन । कम्पनीले सार्वजनिक सूचनामार्फत डिपोमा चामल सकिएको भन्दै यही जेठ २१ गतेबाट अर्को सूचना जारी नहुँदासम्म चामल बिक्रीमा रोक लगाएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा ढुवानी अनुदानको चामल सात हजार क्विन्टल बिक्री वितरण भइसकेको र कम्पनीको गोदाममा न्यूनतम मौज्दात भएकाले वितरण रोकेको डिपो प्रमुख नवीनप्रसाद आचार्यले बताउनुभयो ।

विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला खाद्य कम्पनीमा चामल सकिनु बाजुरामा खाद्य सङ्कट शुरुवातको सङ्केत भएको नागरिक समाज बाजुराका संयोजक जनेश भण्डारीको भनाइ छ । हातमा पैसा भए पनि डिपोमा चामल नरहेकाले बजारमा महँगो मूल्यमा किनेर खाने गरेको बूढीनन्दाका स्थानीय प¥यागराज उपाध्यायले बताउनुभयो ।

जिल्लाका व्यापारीहरुले लकडाउनको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएका छन् । व्यापारीले एक बोरा चामलमा २ सयदेखि ३ सयसम्म मूल्य बढाएको स्थानीयवासीको भनाइ छ ।

लकडाउन र बर्खा लागेको भन्दै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाए पनि अहिलेसम्म बजार अनुगमन भएको छैन । लकडाउले दैनिक रोजगारी जान पनि समस्या भएको र पारिश्रमिक पनि समयमा नपाएका बेला अझ महङ्गो चामल किनेर खानुपरेको स्थानीयवासीको गुनासो छ ।

लकडाउनको सयमा खाद्यले आपूर्ति व्यवस्थालाई सहज बनाउन नसक्दा विपन्न परिवार महङ्गो मूल्यको चामल खान बाध्य छन् । एकातिर यो महामारीको समयमा खाद्य सङ्कट, अर्कोतिर कोल्टी क्षेत्रका स्थानीय हाटबजारमा बजार अनुगमन नहुँदा दैनिक उपभोग्य सामानमा कालोबजारी भएको भए पनि अनुगमनमा कुनै वास्ता नभएको त्यहाँका स्थानीयवासीको गुनासो छ ।

कोल्टीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको डिपो बूढीनन्दा नगरपालिका, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाको सेवा क्षेत्रभित्र पर्ने गरेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको बाजुरा शाखाका प्रमुख मेखराज ओझाले चामल सकिएको र अब बाँकी ६०० क्विन्टल मौज्दात रहेको छ, त्यो पनि केही दिनबाट बिक्री गर्ने योजना रहेको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button