तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सख्या १६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सख्या १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ज्येष्ठ २८ गते मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि मृतकको सङ्ख्या १६ पुगेको जानकारी दिनुभयो ।

मृतक पुरुष १२ दिन अगाडि भारतबाट फर्किएर स्थानीय क्वारेन्टाईनमा बस्दा श्वासप्रश्वासमा समस्या आएपछि लुम्बिनी अस्पताल बुटवलमा उपचार गरी घर फर्कने क्रममा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी आज थप चार सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच हजार ६२ पुगेको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप चार सय २४ जना पुरुष र २४ जना महिलामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।

आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका दुई जना र झापाका सात जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा महोत्तरीका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका आठ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका एक जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ जना उदयपुरका तीन जना र सिराहाका ११ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।

यसै गरी कोसी अस्पतालमा गरिएको परीक्षणमा इलामका एक जना, झापाका छ जना र सुनसरीका १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका २२ जना, पर्वतका १३ जना तथा नवलपरासी र तनहुँका एक÷एक जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका १५ जना र बाँकेका एक जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका चार जना, मोरङका एक जना र धादिङका २७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ जना महोत्तरीका छ जना र सर्लाहीका तीन जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा आठ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तु र सर्लाहीका चार÷चार जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ३८ जना र सुर्खेतका ४५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका १६ जना, पाल्पाका एक जना तथा अर्घाखाँची, गुल्मी, प्युठान र नवलपरासी पश्चिमका दुई÷दुई जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका ८६ जना, सर्लाहीका ५० जना तथा काठमाडाँै, नुवाकोट, धादिङ, बारा र धनुषाका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म ७२ जिल्लाका चार हजार सात सय नौ जना पुरुष र तीन सय ५३ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी आज थप १६ जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्किनेको कूल सङ्ख्या आठ सय ७७ पुगेको छ ।

आज युनिफाईड कोभिड–१९ अस्पताल बलम्बुबाट तीन जना, पाटन अस्पतालबाट एक जना, काठमाडांै मेडिकल कलेज नुवाकोटबाट तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आठ जना र ह्याम्स अस्पताल काठमाडांैबाट एक जना कोरोना मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप चार जना महिला र १२ जना पुरुष कोरोना मुक्त भएका छन् ।

नेपालमा हालसम्म जम्मा सात सय ८६ जना पुरुष र ९१ जना महिला कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button