तपाईँ सुन्दै हुनुहुन्छः

क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग मन्त्री ज्ञवालीको बेग्लाबेग्लै टेलिफोन वार्ता

फाइल तस्बिर

काठमाडौँ –   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गर्नुभएको छ ।

वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श हुनुका साथै अहिलेको कठिन परिस्थितिमा सहकार्य र साझेदारीमा उहाँहरूले जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्ताका क्रममा नेपालमा रहेका क्यानडाली र बेलायती नागरिक तथा बेलायत र क्यानाडामा रहेका नेपालीलाई सहयोग गर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्ने तत्परता उहाँहरूले व्यक्त गर्नुभयो ।

कोभिड–१९ विरुद्ध आ–आफ्ना सरकारले चालेका कदमप्रति उहाँहरूले ऐक्यबद्धता जनाउनु भएको, सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभ तथा ज्यान गुमाएकाहरूका परिवारजनमा सहानुभूति र समवेदन प्रकट गर्नुभयो । कोभिड–१९ लाई परास्त गर्न विश्वव्यापी एकता, सहयोग र साझेदारीमा पनि उहाँहरूले जोड दिनुभयो ।

उहाँहरूले द्विपक्षीय, क्षेत्रीय विश्वव्यापी साझा चासोका विषयहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वार्ताका क्रममा विकासशील देशहरूका विकासका कार्यसूची, जलवायु परिवर्तन र बहुपक्षीयताजस्ता विषयमा नेपालसँग साझेदारी गर्ने आश्वासन क्यानाडाका विदेशमन्त्रीले दिनुभएको र बेलायतका विदेशराज्यमन्त्रीले महामारीपछिको नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button