तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिमका सबैको रिपोट नेगेटिभ, १३ सय बढीको स्वाब संकलन


रुकुम । रुकुम पश्चिममा हालसम्म कुनै पनि कोरोना भाइरस संक्रमित ब्यक्ति फेला परेका छैनन । हालसम्म भएका सबै पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका अनुसार हालसम्म पिसिआर जाँच भएको ५ सय ७० जनाकै रिपोर्ट नेगेटिभ आएको छ । कार्यालयका कोरोना फोकलपर्सन ईश्वर रावलका अनुसार हालसम्म १३ सय २२ जनाको स्वाव संकलन गरेर परिक्षणका लागि पठाईएकोमा हालसम्म परिक्षण भएको सबैमा कोरोना नभएको पुष्टि भएको छ ।

‘अझै साढे सात सय बढी स्वाब संकलन गरेर पठाएकाको रिपोर्ट आउन बाँकी छ’ रावलले भने, ‘राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही र प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा ती स्वाबहरु पठाईएको छ ।’ पछिल्लो पटक स्वाब संकलन गरेर पठाएको ५ दिनसम्म पनि रिपोर्ट नआएको बताईएको छ ।

कुन स्थानीय तहमा कति स्वाब संकलन

हालसम्म रुकुम पश्चिमका ६ स्थानीय तहमा गरि १३ सय २२ जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि प्रयोगशालामा पठाईएको छ । जसमा त्रिबेणी गाउँपालिकाबाट ३ सय ३०, सानीभेरी गाउँपालिकाबाट ५९ र बाँफिकोट गाउँपालिकाबाट १ सय ६१ जनाको स्वाव संकलन गरेर पठाईएको छ । त्यस्तै मुसिकोट नगरपालिकाबाट ३ सय ७, चौरजहारी नगरपालिकाबाट २ सय ४० र आठबिसकोट नगरपालिकाबाट २ सय २० जनाको स्वाव संकलन गरिएको छ । अझै पनि सबै स्थानीय तहमा गरि भारत लगायतका बिभिन्न ठाउँबाट आएर करिब ४ सय ब्यक्तिहरु क्वारेन्टाइनमा बसेका र उनीहरुको पनि क्रमस पिसिआर परिक्षणका लागि स्वाब संकलन हुने बताईएको छ ।

१३ सय ३१ जनाको आरडिटि परिक्षण

पिसिआर साथसाथै क्वारेन्टाइनमा बसेका १३ सय ३१ जनाको आरडिटि पनि परिक्षण गरिएको बताईएको छ । रुकुमको बाँफिकोट गाउँपालिकाका करिब ४ सयको संख्यामा आरडिटि चेक गरिएको छ भने त्यसको करिब आधा संख्यामा अन्य स्थानीय तहहरुमा पनि परिक्षण भएको छ । परिक्षणमा सबैको रिपोट नेगेटिभ आएका छ । जिल्लामा आरडिटि र पिसिआर जाँच गरिएका अधिकांस ब्यक्तिहरु संक्रमित देश भारतबाट आएकाहरु छन ।

कर्णाली प्रदेशमा कोरोना पुष्टि नहुने दुई जिल्लामा रुकुम पनि

कर्णाली प्रदेशमा यो समाचार तयार पर्दासम्म ६ सय ७१ जना ब्यक्ति कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । कर्णालीका दश जिल्ला मध्य ८ जिल्लाका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको भएपनि दुई जिल्लामा भने हालसम्मका परिक्षणमा पुष्टि भएको छैन । हुम्ला र रुकुम पश्चिमका हालसम्म कुनै पनि ब्यक्तिमा कोरोना पुष्टि भएको छैन । तर रुकुम पश्चिममा भारत लगायतका अन्य ठाउँबाट आएका अझै ७ सय बढी स्वाबको रिपोर्ट भने आएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button