तपाईँ सुन्दै हुनुहुन्छः

अकालमै ज्यान जान नदिन रक्तदान कार्यक्रम


सप्तरी । सप्तरी जिल्लास्थित एक मात्र सदरमुकाम राजविराजमा रहेको रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएको छ । रगत अभावले समस्या भएपछि केन्द्रले गरेको आग्रहमा सहयोग गर्न सामाजिक नागरिक उत्तरदायित्व अन्र्तरगत एक गैरसरकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

“रक्तदान जिवनदान, रगतको अभावमा कसैले नगुमाओस् ज्यान” भन्ने नाराका साथ ग्रिन नेपाल नामक संस्थाले छिन्नमस्ता अस्पताल तथा रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । एकातिर कोरोनाको त्रास, अर्कोतिर बढ्दो गर्मीसँगै बिरामीको चाप ह्वातै बढेपछि रक्तसंचार केन्द्रमा रगतको चरम अभाव भएको केन्द्रका इन्चार्ज नविन झाले बताए ।

ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले जिल्लाको एक मात्र रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएपछि रगत अभावमा कुनै पनि व्यक्तिको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनले यस्ता सेवामूलक कार्यक्रममा सबैलाई सहभागि हुन आग्रह पनि गरे ।

स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको हाताभित्र रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित उक्त रक्तसंचार सेवा केन्द्रमा लकडाउन लागु भए यतादेखी रगतको चरम अभाव भएको हो । रगतको अभावले विशेष गरि ग्रामिण भेगका सुत्केरी महिला र अन्य बिरामीलाई समस्या भइरहेको भन्दै केन्द्रले रक्तदान कार्यक्रम संचालन गरि सहयोग गर्न सबै संघ संस्थाहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button