तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा थप पिसिआर मेसिन तथा ५० हजार भिटिएम खरिद गर्ने

जनकपुरधाम । कोरोना महामारीको प्रभावकारी नियन्त्रणका लागि प्रदेश नंं २ का सरकारले चार वटा रियल टाइम पिसिआर मेसिन तथा ५० हजार भिटिएम सहितको स्वास्थ्य सामाग्रीहरू खरिद गर्ने निर्णय गरेको छ ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिको बैठकले हाल पिसिआर मेसिन सञ्चालनमा रहेको प्रादेशिक प्रयोगशाला जनकपुर, वीरगन्ज र राजविराजको ल्याबमा एउटा –एउटा र रौतहटको सदरमुकाम गौरमा अवस्थित जिल्ला अस्पतालमा नयाँ ल्याब सञ्चालन गरेर चार वटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।

समितिले परीक्षण तथा उपचारको लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

यसै गरी समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

यसको साथै कोरोनाको परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री खरिद गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश विन्दुमा नेपाली सेनाले होल्डिङ्ग एरिया बनाई व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

काठमाडौँदेखि तोकिएको क्वारेनटाइनसम्म जाँदाको खाना, खाना आदि खर्च प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ । प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकहरूको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई दिइएको छ ।

लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका सङ्घ संस्थाहरूको सहकार्य आवश्यक रणनीति लागु गर्ने निर्णय पनि निर्देशन समितिको बैठकले गरेको छ ।

केन्द्रमा रहेको समितिको निर्देशन अनुसार नै निर्णय भएको प्रदेश नंं २ का सरकारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button